शंकास्पद विषाक्तताका कारण दैलेखमा आमा–छोराको मृत्यु

मातृभूमि संबाबददाता । ०६ श्रावण दैलेख
दैलेखमा एकै परिवारका आमा र छोराको शंकास्पद विषाक्तताका कारण मृत्यु भएको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका ९ खाडाका २७ वर्षीया कमला रावल र उनका ९ वर्षीय छोरा आयुष रावलको शंकास्पद बिषाक्तता कारण मृत्यु भएको हो ।
आफ्नै घरको माथिल्लो तलाको कोठामा भुइँमा ओछ्यान लगाएर सुतेका आमा–छोरा सोमबार बिहान उठ्दा रिंगटा लाग्ने र शरीर झमझमाउने समस्या देखिएको पछि उनीहरूलाई उपचारका लागि स्थानीय शाही मेडिकल सांगेताडा लगिएको थियो ।
उपचारका स्वास्थ्य लैजाने क्रममा ९ वर्षीय आयुषको सोमबार बिहान बाटोमै मृत्यु जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायाले जानकारी दिए । आमा कमलालाई भने जिल्ला अस्पताल दैलेखमा सामान्य उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो । कर्णाली प्रदेश अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइरहेकी कमलाको बुधबार बिहान मृत्यु भएको सूचना अधिकारी रोकायले जानकारी दिए ।
चिकित्सकहरूले प्रारम्भिक रूपमा सर्पदंशसँग मिल्दोजुल्दो लक्षण देखिएको अनुमान गरे पनि मृत्युको वास्तविक कारण जंगली च्याउ वा सर्पदंश के हो भन्ने यकिन भइसकेको छैन । घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी जम्भुकाँध र प्रहरी चौकी पाल्तडाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज पौडेलको नेतृत्वमा थप टोली परिचालन गरिएको थियो । घटनाको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *