दैलेखको गुराँस गाउँपालिकामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण
मातृभूमि संबाबददाता । ०६ श्रावण दैलेख
दैलेखको गुराँस गाउँपालिका १ को वडा कार्यालयले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । पालिकासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, अशक्त तथा अपांगता भएका नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयबाटै भत्ता वितरण गरिएको हो ।
यसअघि बैंक मार्फत मात्रै भत्ता वितरण हुँदा ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिले घण्टौँ लाइनमा बस्नुपर्ने तथा सास्ती खेप्नुपर्ने अवस्था थियो । नागरिकको यही समस्यालाई समाधान गर्न वडा कार्यालयबाटै भत्ता वितरणको व्यवस्था गरिएको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बि.सी.ले जानकारी दिए । वडास्तरबाटै सेवा सञ्चालन भएपछि स्थानीय बासिन्दालाई ठूलो राहत पुगेको उनले बताए ।
यस्तै पहिलो चरणमा वडा कार्यालयबाट १ सय ४४ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गुराँस गाउँपालिका वडा नं. १ का वडाध्यक्ष धर्मबहादुर रावलले जानकारी दिए । आगामी दिनमा अशक्त, ज्येष्ठ नागरिक तथा हिँडडुल गर्न नसक्ने व्यक्तिको सुविधालाई मध्यनजर गर्दै टोल–टोल र घर–घरमै पुगेर भत्ता वितरण गर्ने तयारी समेत भइरहेको उनले बताए ।
स्थानीय सेवाग्राही ९० वर्षीय रसीमान खड्काले वडा कार्यालयबाटै भत्ता पाउँदा आफूजस्ता वृद्धवृद्धालाई निकै सहज भएको बताए । अहिले वडा कार्यालयमै सहज रूपमा भत्ता प्राप्त गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ । उनले भने, “पहिला भत्ता लिन बैंकसम्म जान निकै गाह्रो हुन्थ्यो । अहिले वडा कार्यालयबाटै सेवा पाएपछि धेरै राहत भएको छ । सरकारले नागरिकको सुविधा हेरेर यस्तो व्यवस्था गरेकोमा हामी खुसी छौं ।”

