विविध कार्यक्रम सहित दैलेखमा ४४औँ बीपी स्मृति दिवस मनाइयो

जित बहादुर थापा (रोशन)
०५ श्रावण दैलेख
नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४४ औं स्मृति दिवस विविध कार्यक्रमका साथ मनाएको छ । यस अवसरमा देशैभर वृक्षारोपण, विचार गोष्ठी तथा ’जरा अभियान’ को समापन गर्दै कांग्रेसले बीपीका विचार, लोकतान्त्रिक मूल्य–मान्यता र संगठन सुदृढीकरणप्रतिको आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएको हो ।
नेपाली कांग्रेस नारायण नगर समितिको आयोजनामा नारायण नगरपालिका १ स्थित पुरानो बजारको नारायण निम्न माध्यमिक विद्यालय परिसरमा १०० भन्दा बढी बिरुवा रोपिएको नगर सभापति मनोज थापाले जानकारी दिए । उनले बीपी कोइरालाले अघि सारेको लोकतान्त्रिक मूल्य–मान्यता, सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणको सन्देशलाई व्यवहारमा उतार्न वृक्षारोपण गरिएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तीर्थजंग शाहीले बीपी कोइरालाले स्थापित गरेको लोकतान्त्रिक आदर्श, राष्ट्रिय एकता र जनअधिकारको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए । उनले पार्टीलाई जनतासँग अझ निकट बनाउँदै बीपीका विचारलाई व्यवहारमा उतार्न नेता–कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिए ।
यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सूर्यबहादुर बि.क.ले बीपीको राजनीति सत्ता प्राप्तिका लागि नभई लोकतन्त्र, सामाजिक न्याय र जनताको अधिकारको सुनिश्चितताका लागि भएको उल्लेख गर्दै वर्तमान पुस्ताले उहाँको विचारलाई आत्मसात् गर्नुपर्ने धारणा राखे ।
नेपाली कांग्रेस दैलेखका सभापति मणीराम रेग्मीले बीपीले देखाएको सिद्धान्त, त्याग र लोकतान्त्रिक संस्कृतिलाई संगठनको आधार बनाउँदै पार्टीलाई थप सुदृढ बनाइने बताए । उनले पार्टीभित्र एकता, अनुशासन र जनमुखी राजनीतिक अभ्यास आवश्यक रहेको उल्लेख गरे ।
कर्णाली प्रदेश सरकारका पूर्व पर्यटनमन्त्री कृष्णकुमार बि.सी.ले बीपीको दूरदर्शी सोच, राष्ट्रियता र लोकतान्त्रिक आस्थाबाट प्रेरणा लिएर देश विकास र सुशासनका लागि सबैले साझा प्रयास गर्नुपर्ने धारणा व्यक्त गरे ।
नेपाल प्रेस युनियन दैलेखका सभापति अभिषेश अनुरागले बीपी कोइरालाले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई लोकतन्त्रको आधारका रूपमा स्थापित गरेको उल्लेख गर्दै स्वतन्त्र, जिम्मेवार र जनउत्तरदायी पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने बताए ।
कार्यक्रममा सहभागी वक्ताहरूले बीपी कोइरालाको विचार, लोकतान्त्रिक मूल्य–मान्यता, सामाजिक न्याय र संगठन सुदृढीकरणको मार्ग आज पनि उत्तिकै प्रासंगिक रहेको उल्लेख गर्दै उहाँका आदर्शलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस दैलेखका प्रवक्ता सन्देश कठायतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *