दैलेखमा अनुमति बिना पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न रोक

मातृभूमी संवाददाता । ०७ श्रावण दैलेख
दैलेखमा पेट्रोलियम पदार्थको अवैध वेचविखन तथा बिक्री वितरण गर्न रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले प्रचलित कानुन बमोजिम अनुमति प्राप्त गरेका पेट्रोल पम्प तथा तोकिएका स्थान बाहेक अन्य कुनै स्थानबाट पेट्रोलियम पदार्थको अवैध वेचविखन तथा बिक्री वितरण गर्न रोक लगाएको हो ।
दैलेखका विभिन्न स्थानमा अनुमति नलिई पेट्रोल, डिजेल लगायतको इन्धन बिक्री–वितरण भैरहेको गुनासोपछि प्रशासनले कडाइ गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जानकारी दिए । उनले अनुमति नलिई पेट्रोलियम पदार्थ बिक्री–वितरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही समेत गरिने बताए । इन्धन जस्तो संवेदनशील वस्तुको सुरक्षित भण्डारण तथा बिक्री वितरणका लागि कानुनी व्यवस्था पालना गर्न प्रमुख जिल्ला अधिकारी सारुले आग्रह गरे ।
पेट्रोलियम पदार्थको अवैध बेचबिखन, असुरक्षित भण्डारण हुँदा आगलागी, विस्फोट तथा अन्य सुरक्षा जोखिम बढ्नुका साथै उपभोक्ताले गुणस्तरहीन इन्धन पाउने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी सारुले बताए । उनले पेट्रोलियम पदार्थको बिक्री–वितरणलाई व्यवस्थित, सुरक्षित र कानुन सम्मत बनाउन सबै सरोकारवालासँग सहयोगको अपेक्षा समेत गरे । अनुमति नलिई अन्य कुनै स्थानबाट पेट्रोलियम पदार्थ बिक्री गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी सारुले चेतावनी समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *