श्रावण पहिलो हप्तासम्म दैलेखमा ८८ प्रतिशत धान रोपाइँ

जितबहादुर थापा (राेशन) । ०७ श्रावण दैलेख
दैलेखमा श्रावणको पहिलो हप्तासम्म ८८ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न भएको छ । गत वर्षको सोही अवधिको तुलनामा ११ प्रतिशतले बढी धान रोपाई भएको कृषि विकास कार्यालयले दैलेखले जानकारी दिएको छ । गत वर्ष यस अवधिमा जिल्लाभर ७७ प्रतिशत मात्र रोपाइँ भएको कार्यालयले जनाएको छ ।
जिल्लाभर कुल ७ हजार ९ सय २५ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा श्रावण पहिलो हप्तासम्म ६ हजार ९ सय ७४ हेक्टरमा रोपाइँ सकिएको कार्यालयका प्रमुख दशरथ पाण्डेले जानकारी दिए । समयमै मनसुन सक्रिय भएका क्षेत्रमा किसानहरूको सक्रियता र पूर्वतयारीका कारण यस वर्ष रोपाइँको रफ्तार बढेको प्रमुख पाण्डेको भनाइ छ ।
जिल्लाका ११ वटै स्थानीय तहमा अहिले पनि रोपाइँ जारी रहेको कार्यालयले जनाएको छ । जिल्लाका अधिकांस क्षेत्रमा पर्याप्त पानी परेकाले छिटो रोपाइँ भएको हो । पछिल्लो समय केही कृषक समूहहरूले कृषि यान्त्रीकरणको प्रयोग सुरु गरेपछि रोपाइँ कार्य थप सहज र छरितो बन्दै गएको छ । तर, आकाशे पानीमा निर्भर क्षेत्रमा भने पर्याप्त वर्षा नहुँदा रोपाइँ ढिलो भएको प्रमुख पाण्डेले वताए ।
जिल्लाको कुल धान खेती हुने क्षेत्रफलको १२ प्रतिशत अर्थात् ९ सय ५१ हेक्टर खेत अझै बाँझै रहेको छ । धान खेती दैलेखको खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने मुख्य अन्नबाली हो । समयमै रोपाइँ सकिएमा र मौसम अनुकूल रहेमा यस वर्ष उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ । वर्षामा आधारित खेती प्रणाली भएका क्षेत्रमा समयमै रोपाइँ हुन नसक्दा प्रतिहेक्टर उत्पादन घट्ने, बालीमा रोग–कीराको प्रकोप बढ्ने र धान काट्न ढिलो भई समग्र कृषिचक्र नै प्रभावित हुने जोखिम पनि उत्तिकै रहन्छ ।
लामो समयदेखि पर्याप्त सिँचाइ सुविधाको अभाव, समयमा रासायनिक मल उपलब्ध नहुनु, गुणस्तरीय बिउबिजनमा किसानको सीमित पहुँच, प्लटिङ र अन्य कारणले खेतीयोग्य जमिन घट्दै जानु र जलवायु परिवर्तनको असरका कारण जिल्लामा उत्पादकत्व सोचेअनुरूप बढ्न नसकेको प्रमुख पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *