दैलेखमै पहिलो पटक लोकसेवा र शिक्षक सेवा तयारी कक्षा सञ्चालन
जित बहादुर थापा (रोशन)
०८ श्रावण, दैलेख
दैलेख सदरमुकाम नारायण नगरपालिका १ मा पहिलो पटक लोकसेवा आयोग र शिक्षक सेवा आयोगका प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा सञ्चालन भएको छ । स्थानीयस्तरमै गुणस्तरीय शिक्षा र उचित मार्गदर्शन उपलब्ध गराउने उद्देश्यका साथ स्मार्ट इन्स्टिट्युटले औपचारिक रूपमा कक्षा सुरु गरेको हो ।
लोकसेवा र शिक्षक सेवाको तयारीका लागि जिल्ला बाहिर वा काठमाडौं धाउनुपर्ने दैलेखी परीक्षार्थीहरूको बाध्यता अन्त्य गर्ने लक्ष्य सहित कक्षा सञ्चालन गरिएको इन्स्टिट्युटका सञ्चालक हिक्मत बुढाले जानकारी दिए । अब परीक्षार्थीहरूले आफ्नै जिल्लामा बसेर कम खर्चमा अनुभवी प्रशिक्षकबाट लोकसेवा तथा शिक्षक सेवाका विभिन्न तहका प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्न सक्ने उनले बताए ।
इन्स्टिट्युटमा संघीय निजामती सेवा अर्न्तगत नायब सुब्बा र खरिदार पदका तयारी कक्षा सञ्चालन गरिनेछ । त्यसैगरी कर्णाली प्रदेश लोकसेवा आयोग अर्न्तगत चौथो र पाँचौँ तहका पदका लागि विशेष तयारी कक्षाको व्यवस्था गरिएको छ ।
शिक्षक सेवा आयोग अर्न्तगत विभिन्न तहका परीक्षा तथा माध्यमिक र निम्न माध्यमिक तहको शिक्षक लाइसेन्स तयारी कक्षा पनि सञ्चालन हुने नेपाल सरकारका शाखा अधिकृत (शिक्षक) नर बहादुर सलामीले बताए । सरकारी बैंक, संगठित संस्था तथा संस्थानका पूर्वयोग्यता परीक्षाका लागि समेत विशेष पठनपाठनको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
दैलेखमै पहिलो पटक यस्तो तयारी कक्षा सञ्चालनमा आएपछि लोकसेवा र शिक्षक सेवामा भविष्य बनाउन चाहने स्थानीय युवा तथा परीक्षार्थी उत्साहित भएका छन् । घरमै बसेर तयारी गर्न पाइने भएकाले आर्थिक भार कम हुनुका साथै समयको बचत हुने विश्वास उनीहरूले व्यक्त गरेका छन् ।
इन्स्टिट्युटले दक्ष तथा अनुभवी प्रशिक्षक मार्फत अध्यापन, नियमित साप्ताहिक नमुना परीक्षा, डिजिटल अध्ययन सामग्री तथा परीक्षा केन्द्रित अभ्यास कक्षाको व्यवस्था गरिएको जनाएको छ । जिल्लामै पहिलो पटक सुरु भएको यस सेवाले विशेषगरी ग्रामीण क्षेत्रका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसैबीच, इच्छुक विद्यार्थी तथा परीक्षार्थीलाई लक्षित गर्दै यही श्रावण ११ गते सोमबार साँझ ५ः०० बजे निःशुल्क ओरिएन्टेसन कार्यक्रम सञ्चालन गरिने इन्स्टिट्युटले जनाएको छ । ओरिएन्टेसन कार्यक्रममा लोकसेवा आयोग र शिक्षक सेवा आयोगका परीक्षा प्रणाली, तयारीका प्रभावकारी विधि, पाठ्यक्रम, अध्ययन रणनीति तथा कक्षासम्बन्धी सम्पूर्ण जानकारी प्रदान गरिनेछ । सोही दिनदेखि लोकसेवा आयोग तथा शिक्षक सेवा आयोगका नियमित तयारी कक्षाहरू औपचारिक रूपमा सञ्चालन हुने जनाइएको छ । इच्छुक सबै परीक्षार्थीलाई समयमै उपस्थित भई अवसरको लाभ लिन इन्स्टिट्युटले आग्रह गरेको छ ।

