दैलेखमा ‘स्लो बाइक रेस’ प्रतियोगिता सम्पन्न, महतारा प्रथम

जेसी जित बहादुर थापा (रोशन)
०७ श्रावण दैलेख
दैलेखमा ‘स्लो बाइक रेस’ प्रतियोगिता सम्पन्न भएको छ । दैलेख जेसीज वर्ष २०२६ को आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखको समन्वयमा प्रतियोगिता भएको हो । ‘बिस्तारै बाइक चलाऊँ, सुरक्षित रहौँ’ भन्ने मूल सन्देश प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको दैलेख जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी डा.प्रयास विक्रम सिजापतीले जानकारी दिए । तीव्र गतिमा सवारी चलाउँदा हुने दुर्घटना तथा मानवीय क्षतिलाई मध्यनजर गर्दै युवाहरूमा सचेतना जगाउने उद्देश्यले प्रतियोगिता संचालन गरिएको डा.सिजापतिले वताए ।
‘स्लो बाइक रेस’ प्रतियोगिताले युवाको सीप, व्यक्तित्व र नेतृत्व उदयको साझा उत्सव भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्पराज रोकयाले बताए । युवालाई सही ज्ञान, मनोबल र प्रेरणा प्रदान गर्न सकिएको खण्डमा सक्षम, अनुशासित र सुरक्षित समाज निर्माणको दिशा अझै सबल हुने उनको भनाई थियो ।
त्यस्तै, सडक दुर्घटनाको मुख्य कारण तीव्र गति र लापरबाही भएको बताउँदै यस्ता रचनात्मक प्रतियोगिताले युवाहरूलाई सवारी नियम पालना गर्न र संयमित भएर सवारी चलाउन गम्भीर बनाउने जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख जयसिंह गुरुले बताए ।
जनता प्राथामिक विद्यालय व्यवस्थापन समितिकका अध्यक्ष गणेश विसीले युवाहरूलाई सुरक्षित सवारी संस्कृतितर्फ प्रेरित गर्दै यस्ता अभियानले समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा निर्धारित दूरी सबैभन्दा ढिलो बाइक चलाएर पार गर्दै सरोज महतराले प्रथम स्थान हासिल गरेका छन् । उनले नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे । यसैगरी, द्वितीय स्थान हासिल गर्ने घनश्याम केसीले ७ हजार रुपैयाँ नगद र प्रमाणपत्र तथा तृतीय स्थान हासिल गर्ने राजेन्द्र खत्रीले ३ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, प्रतियोगितामा सहभागीहरूमध्येबाट गोपाल शाहीलाई लक्की ड्र मार्फत १ हजार रुपैयाँ सान्त्वना पुरस्कार समेत प्रदान गरिएको थियो ।
प्रतियोगितामा स्थानीय ३० जना युवाहरूले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रम सञ्चालन दैलेख जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी प्रकाश कुमार बुढा र २०२६ का महासचिव जेसी रेखा थापाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *