विद्युत विवादले टेलिकम सेवा ठप्प, दुई स्थानीय तहका नागरिक मारमा

मातृभूमी संवाददाता । १० श्रावण दैलेख
दैलेखको गुराँस गाउँपालिका ७ मर्खेको पारीपाखा सालघारी सामुदायिक वनमा रहेको नेपाल टेलिकमको मोबाइल टावर एक सातादेखि विद्युत आपूर्ति अवरुद्ध हुँदा सेवा ठप्प भएको छ । टावर सञ्चालनमा नआउँदा गुराँस गाउँपालिकाका वडा नं. ४, ५, ६ र ७ तथा डुङ्गेश्वर गाउँपालिकाका वडा नं. ३, ४ र ६ का स्थानीयले सञ्चार सेवामा सास्ती खेपिरहेका छन् ।
टावर बन्द भएपछि मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा अवरुद्ध भएको स्थानीय दिपक विसीले बताए । दैनिक फोन सम्पर्क, अनलाइन सेवा, बैंकिङ कारोबार, शैक्षिक गतिविधि तथा आपतकालीन सञ्चार समेत प्रभावित भएको विसीले बताए । विशेष गरी बिरामी, विद्यार्थी, व्यवसायी तथा सरकारी सेवा लिने सेवाग्राही बढी समस्यामा परेको उनले बताए ।
टावरमा विद्युत आपूर्ति पुनः सञ्चालन गरिदिन स्थानीयले गुराँस गाउँपालिका, नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दैलेखसँग पटक–पटक अनुरोध गरे पनि समस्या समाधान हुन सकेको छैन । विसीका अनुसार एक निकायले अर्को निकायलाई जिम्मेवार देखाउँदै पन्छिने प्रवृत्तिका कारण मर्मत कार्य अझै सुरु हुन सकेको छैन ।
यस विषयमा गुराँस गाउँपालिकाले विद्युत प्राधिकरणको क्षेत्राधिकार भएको बताउने गरेको छ भने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दैलेखले सामुदायिक वन तथा अन्य सम्बन्धित पक्षको समन्वय आवश्यक रहेको प्रतिक्रिया दिएको स्थानीयको भनाइ छ । जिम्मेवारी कसको भन्ने विषयमै अलमल हुँदा सर्वसाधारणले भने निरन्तर सास्ती भोग्नु परेको छ ।
स्थानीयहरूले सम्बन्धित निकायबीच आवश्यक समन्वय गरी टावरमा तत्काल विद्युत आपूर्ति पुनःस्थापना गर्न माग गरेका छन् । समयमै समस्या समाधान नभए सेवाग्राहीको दैनिकी अझ प्रभावित हुने भन्दै उनीहरूले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *