दैलेखको देवकोटा चोकमा दुई समुहबीच झडप, एक जना घाइते

मातृभूमी संवाददाता । ०७ कात्तिक दैलेख
दैलेख सदरमुकाममा दुई समुहबीच झडप हुँदा एक जना घाइते भएका छन् । दुई समुहका युवाहरुवीच भएको विवादले उग्र रूप लिँदा हेल्मेट प्रहारबाट एक जना घाइते भएका हुन् । झडपमा घाइते हुनेमा दुल्लू नगरपालिका ११ सिमल तोलीका २० वर्षीय खगेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्पराज रोकायले बताएका छन् ।
हाल बाँकेको कोहलपुर बस्दै आएका थापा आफन्तको विवाहमा सहभागी हुन दैलेख आएका थिए । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले नारायण नगरपालिका ७, किमुगाउँ र काँडाचौरका चार जना युवालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले घटनामा प्रयोग भएका कर्णाली प्रदेश ००३ प ७०९० र कर्णाली प्रदेश ०२००२ प ६१६१ नम्बरका दुई मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रोकायले जानकारी दिए ।
घाइते थापाको दैलेख अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको र अचेत अवस्थामा रहेको चिकित्सकले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार देवकोटा चोक स्थित एक रेस्टुरेन्टमा खाजा खाने क्रममा युवाहरूबीच सामान्य विवाद भएको थियो । विवादपछि थप सहयोगका लागि मोटरसाइकलमा आएका युवाहरूले देवकोटा चोकमा थापामाथि हेल्मेट प्रहार गरेका थिए । घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । झडपको कारण तथा घटनामा संलग्न व्यक्तिहरूबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरी निरीक्षक रोकायले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *