डुङ्गेश्वरमा आयोजित खेलकुद प्रतियोगिता सम्पन्न, भलिबलको उपाधि भगवतीमाईको पोल्टामा

जित बहादुर थापा/रोशन । ३१ असोज, दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ मा आयोजित पालिकास्तरीय पुरुष भलिबल, ब्याडमिन्टन र तानडोरी प्रतियोगिता सम्पन्न भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारा सहित शनिबार जनकल्याण माध्यमिक विद्यालय, सेर्माकोटको प्राङ्गणमा सम्पन्न भएको हो ।
प्रतियोगिताको पुरुष भलिबलतर्फ भगवतीमाई गाउँपालिकाको टिम प्रथम भएको छ । डुङ्गेश्वर गाउँपालिकाको टिम द्वितीय र गुराँस गाउँपालिकाको टिम तृतीय भएको नेपाली सेनाबाट अवकाशप्राप्त राष्ट्रिय रेफ्री धर्मराज विष्टले जानकारी दिए । भलिबलतर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ७० हजार, ३५ हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । विजेता टिमलाई नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको विष्टले बताए ।
त्यसैगरी, ब्याडमिन्टन प्रतियोगितातर्फ सुरेश बिसीको टिम प्रथम, भद्र शाही र दीपककुमार थापाको टिम द्वितीय तथा भीम विष्ट र शिवराज खड्काको टिम तृतीय भएका छन् । ब्याडमिन्टनतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः १५ हजार, ८ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । तानडोरी प्रतियोगितामा लाँकुरीका हिमबहादुर खत्री र सन्तोष खत्रीको टिम प्रथम भएको छ । विजेता टोलीलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको राष्ट्रिय रेफ्री विष्टले बताए ।
डुङ्गेश्वर गाउँपालिका–२ को वडा कार्यालयले आयोजना गरेको प्रतियोगिताको उद्देश्य स्थानीयस्तरमा खेलकुदको विकास गर्नु, खेलाडीको प्रतिभा पहिचान गर्नु र शारीरिक स्वास्थ्य प्रवद्र्धन गर्नु रहेको वडाध्यक्ष यमबहादुर विष्टले बताए ।
खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सक्रिय बनाउनुका साथै आपसी सद्भाव, सहकार्य र एकताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । ग्रामीण क्षेत्रमा रहेका खेल प्रतिभाको पहिचान गरी खेलाडीलाई थप अवसर र प्रोत्साहन उपलब्ध गराउन यस्ता प्रतियोगिता उपयोगी हुने उनले बताए । वडाध्यक्ष विष्टले आगामी दिनमा पनि खेलकुद गतिविधिलाई निरन्तरता दिँदै युवाको प्रतिभा पहिचान र विकासमा जोड दिइने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *