बालसंवेदनशील सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी : नगरप्रमुख शर्मा

मातृभूमी संवाददाता । ०९ मंसिर दैलेख
नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले बालसंवेदनशील सामाजिक सुरक्षा कार्यक्रम समुदायका लागि प्रभावकारी रहेको बताएका छन् । एभरेष्ट क्लब दैलेखको परियोजना सल्लाहकार समिति मार्फत आयोजित अनुगमन, मूल्याङ्कन, समीक्षा तथा पालिका स्तरीय वार्षिक समीक्षा कार्यक्रममा बोल्दै नगरप्रमुख शर्माले कार्यक्रमले बालबालिकाको अधिकार संरक्षण, क्षमता विकास र सामाजिक सुरक्षामा सकारात्मक योगदान पुर्‍याएको बताए ।
उनले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सुरक्षित भविष्य सुनिश्चित गर्न स्थानीय सरकार, समुदाय, अभिभावक तथा सरोकारवाला निकायको सहकार्य आवश्यक रहेकोमा जोड दिए । यस्तै नगर उपप्रमुख तत्ताकुमारी थापाले कार्यक्रम प्रभावकारी देखिए पनि समुदायमा बालविवाहको समस्या कायमै रहेकाले बालविवाह न्यूनीकरणका लागि थप सचेतनामूलक गतिविधि सञ्चालन गर्नुपर्ने बताईन् ।
एभरेष्ट क्लब दैलेखका परियोजना संयोजक भुपेन्द्र खत्रीका अनुसार कार्यक्रमले महिला, बालबालिका, किशोरकिशोरी, लैङ्गिक हिंसाबाट प्रभावित, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका समुदायको सामाजिक, आर्थिक अवस्था सुधार र समावेशी विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ । कार्यक्रममा परियोजनाका उपलब्धि, चुनौती, प्रभावकारिता र आगामी कार्यदिशाबारे समीक्षा तथा छलफल गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *