दैलेखमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
मातृभूमी संवाददाता । ०९ मंसिर दैलेख
दैलेखमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । नारायण नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा बुधबार जनचेतनामूलक र्याली सहित अभियान सुरु गरिएको हो । अभियान शुभारम्भ कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सोसेक नेपाल लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, विद्यार्थी र स्थानीयवासी सहभागी भएका थिए । सहभागीहरूले लैङ्गिक हिंसा अन्त्य, पीडितको संरक्षण र न्यायको सुनिश्चितताका लागि सचेतनामूलक नारा सहित बजार परिक्रमा गरेका थिए ।
कार्यक्रममा नारायण नगरपालिकाकी उपप्रमुख तप्ता थापाले लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय सरकार, सरोकारवाला निकाय र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताईन् । उनले पीडितको संरक्षण, न्यायको सुनिश्चितता र जनचेतना अभिवृद्धिमा नगरपालिका प्रतिबद्ध रहेको बताईन् ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अभियानका क्रममा लैङ्गिक हिंसा न्यूनीकरण र जनचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने नारायण नगरपालिका महिला, बालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख गिता बुढाले बताईन् ।

