सामुहिक गिरफ्‌तारीको माग गर्दै दैलेखका पत्रकारहरुको प्रदर्शन

मातृभूमी संवाददाता । ०९ मंसिर दैलेख
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकार माथि भइरहेको धरपकडको विरोधमा दैलेखका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय दैलेखमा प्रदर्शन गरेका छन् । ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने प्लेकार्ड सहित पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस काउन्सिल ऐन सम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको, सञ्चार माध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउनेमाथि कारबाही नभएको, पत्रकारको जबरजस्ती निष्कासन र श्रम अधिकार उल्लंघन भएको लगायतका विषय उठाउँदै पत्रकारहरु आन्दोलित भएका हुन् ।
प्रदर्शनका क्रममा नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएको बताउँदै समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड हुनु प्रेस माथिको हस्तक्षेप भएको बताए । यस्ता गतिविधि रोक्न र पत्रकारको पेसागत सुरक्षाको प्रत्याभूति गर्न महासंघले थालेको आन्दोलन अहिले झनै आवश्यक रहेको उनको भनाइ थियो ।
नेपाल प्रेस युनियन दैलेखका सभापति अभिषेक अनुरागले पत्रकारलाई समाचार लेखेकै आधारमा दबाब दिने, धरपकड गर्ने र श्रम अधिकारबाट वञ्चित गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताए । उनले नेपाल पत्रकार महासंघले सुरु गरेको आन्दोलनमा नेपाल प्रेस युनियन दैलेखको पुर्ण साथ रहेको बताए ।
नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष कमल शर्माले पत्रकारिता स्वतन्त्र र सुरक्षित भए मात्रै नागरिकले सही सूचना पाउने बताए । उनले पत्रकारमाथिको धरपकड, सञ्चार माध्यममा हस्तक्षेप र श्रम अधिकार उल्लंघन विरुद्ध दैलेख शाखा केन्द्रीय आन्दोलनसँगै उभिएको भन्दै माग सम्बोधन नभए महासंघ थप संघर्षमा जान तयार रहेको बताए ।
दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीले प्रदर्शनरत सहभागी पत्रकारहरुलाई भेटेर पत्रकारहरुका समस्या बारे जानकारी लिएका थिए । उनले यो सवालमा गृह मन्त्रालय मार्फत नेपाल सरकारलाई सन्देश पुर्‍याउने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *