अपराध रोकथामका लागि नागरिक सहकार्य बढाउँदै दैलेख प्रहरी

मातृभूमी संवाददाता । ०७ मंसिर दैलेख
दैलेखमा सडक दुर्घटना, झैँझगडा, कुटपिट, चोरी तथा अन्य आपराधिक गतिविधि न्यूनीकरण गर्न प्रहरीले नागरिकसँगको सहकार्य बढाउने भएको छ । शान्ति सुरक्षा कायम गर्नु प्रहरी र नागरिक सबैको साझा जिम्मेवारी भएकाले सम्भावित अपराध तथा शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी श्रवणकुमार बिकले आग्रह गरे ।
प्रहरीले सडक दुर्घटना रोक्न तीव्र गति र मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, हेल्मेट र सिटबेल्ट प्रयोग गर्न तथा क्षमताभन्दा बढी यात्रु नराख्न अनुरोध गरेको छ । ट्राफिक नियम उल्लंघन गर्नेलाई नियमित जाँच तथा कारबाही गरिँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज वरिष्ठ सई जयसिंह गुरुले बताए ।
त्यस्तै, सामान्य विवादलाई झैँझगडा र हिंसामा परिणत हुन नदिन तथा चोरी नियन्त्रणका लागि घर, पसल र कार्यालयको सुरक्षामा ध्यान दिन प्रहरीले आग्रह गरेको छ । जुवातास, लागुऔषध तथा गैरकानुनी गतिविधिबाट टाढा रहन र कुनै पनि आपराधिक घटना वा शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न सूचना अधिकारी प्रहरी निरीक्षक तिलक भण्डारीले अनुरोध गरे । दैलेख प्रहरीले सहयोगका लागि नेपाल प्रहरीको कन्ट्रोल नम्बर १०० र ट्राफिक प्रहरीको नम्बर १०३ मा सम्पर्क गर्न पनि आग्रह समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *