छोराको हत्या गर्ने आमावुवालाई जन्मकैदको फैसला
मातृभूमी संवाददाता । ०७ मंसिर दैलेख
आफ्नै छोराको हत्या गर्ने आमाबुबालाई दैलेख जिल्ला अदालतले सोमबार जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश मेघनाथ चापागाइँको इजलासले उक्त फैसला गरेको हो । गएको जेठ १९ गते नारायण नगरपालिका ९ बासकोटका ४६ वर्षीय यादव थापाको हत्या गरेको कसूरमा उनका बुबाआमा नारायण नगरपालिका ९ बासकोटका ७३ वर्षीय कविराज थापा क्षेत्री र ६७ वर्षीया पदम कुमारी थापालाई जन्मकैदको फैसला गरिएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी नासु गणेशप्रसाद रेग्मीले जानकारी दिए ।
बाँकेको नेपालगञ्ज बस्दै आएका यादव पुर्ख्यौली कुल देउता पुज्न दैलेख आएको बेला आमा पदम कुमारीसँग घरायसी विवाद भएपछि बुबा कविराजले हँसिया प्रहार गरी छोराको हत्या गरेका थिए । मृतकको शव परीक्षण प्रतिवेदन र कसूरदारहरुको साविती बयान प्रमाणको आधारमा अदालतले जन्मकैदको फैसला सुनाइएको अदालतका सूचना अधिकारी रेग्मीले जानकारी दिए ।

