दैलेखमा बञ्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते
मातृभूमी संवाददाता । ०५ मंसिर, दैलेख
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा एक व्यक्तिले आफ्नै श्रीमती र छोराछोरीमाथि बञ्चरो प्रहार गर्दा श्रीमती सहित दुई छोराछोरीको मृत्यु भएको छ । घटनामा एक बालक गम्भीर घाइते भएका छन् ।
घरायसी विवादका क्रममा ३८ वर्षीय अम्बर सलामी मगरले शनिबार बिहान दाउरा काट्ने बञ्चरोले श्रीमती र तीन छोराछोरीको टाउकोमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
बञ्चरो प्रहारबाट गम्भीर घाइते भएका ३५ वर्षीया श्रीमती मनिसा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र तीन वर्षीया छोरी करिस्मालाई एम्बुलेन्स मार्फत उपचारका लागि दुल्लुस्थित अस्पताल ल्याइएको थियो ।
अस्पताल पुर्याउँदा १२ वर्षीय तपेन्द्र र तीन वर्षीया करिस्माको मृत्यु भइसकेको डिएसपी विकले बताए । गम्भीर घाइते मनिसालाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ लगिएकोमा दिउँसो साढे २ बजे मृत्यु भएको उनले जानकारी दिए ।
घटनामा घाइते भएका ६ वर्षीय मिलनको भने गम्भीर अवस्थामा उपचार भइरहेको छ । घटनामा संलग्न अम्बरलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी विकले बताए ।

