नेपाल औषधि व्यवसायी संघको राष्ट्रिय महाधिवेशन सुर्खेतमा हुँदै, तयारी तीव्र
मातृभूमी संवाददाता । २८ कार्तिक दैलेख
नेपाल औषधि व्यवसायी संघको १५औँ राष्ट्रिय महाधिवेशन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुने भएको छ । राष्ट्रिय महाधिवेशन भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको छ । महाधिवेशनलाई व्यवस्थित, भव्य र ऐतिहासिक रूपमा सम्पन्न गर्ने उद्देश्य सहित आयोजकले आवश्यक तयारीलाई तीव्रता दिएको नेपाल औषधि व्यवसायी संघ दैलेखका अध्यक्ष इन्द्र बहादुर खत्रीले जानकारी दिए ।
देशभरका औषधि व्यवसायीहरूको सहभागिता रहने महाधिवेशनले व्यवसायीबीच एकता, सहकार्य र आपसी सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको उनले वताए । संघका अध्यक्ष खत्रीले सम्पूर्ण औषधि व्यवसायीलाई कर्णालीको आँगनमा आत्मीय स्वागत गर्न आफूहरू उत्साहित रहेको समेत वताए । उनले १५औँ राष्ट्रिय महाधिवेशन एकता, सहकार्य र साझा रूपान्तरणको ऐतिहासिक अवसर बन्ने विश्वास व्यक्त गरे ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हुने राष्ट्रिय महाधिवेशनले औषधि व्यवसाय क्षेत्रका साझा समस्या, चुनौती र सम्भावनाबारे छलफल गर्दै आगामी कार्यदिशा समेत तय गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए । राष्ट्रिय महाधिवेशन यहि मंसिर ५ र ६ गते हुने संघका दैलेख अध्यक्ष खत्रीले जानकारी दिए ।

