दैलेखमा प्लास्टिकका फुलमालाको बिगबिगी

भिम सिजापति । २४ कार्तिक दैलेख
नेपालीहरुको दोस्रो महान पर्व तिहार भित्रिएसँगै दैलेख सदरमुकाम लगाएत आसपासका बजारमा प्लास्टिकका फुलमालाको बिगबिगी बढेको छ । तिहारमा खासगरी दिदीबहिनीले दाजूभाईलाई सप्तरंगी टिकासँगै सयपत्री, मखमली, हजारी, गुरधौली लगाएतका फुलको माला लगाइदिने गर्दछन् । तिहारको भित्रिएसँग दैलेख सदरमुकाम लगाएत आसपासका बजारमा विभिन्न किसिमका प्लास्टिकका फूलका मालाहरुको विगविगी वढ्दै गएको छ । गाउँघरमा पाईने रैथाने फुलका माला भन्दा पनि कृतिम तरिकाबाट बनाइएका प्लास्टिकका मालाको विगविगी वढ्दै गएको हो ।
तिहार अर्थात फुल र बत्तीहरुको पर्व भनेर चिनिने यस पर्वका वेला दैलेख सदरमुकाम लगाएत आसपासका बजार क्षेत्रमा प्रत्येक वर्ष लाखौँ रुपैयाँको प्लास्टिकका फूलमालाको कारोबार हुने गरेको छ स्थानीयहरु बताउँछन् । ‘यस क्षेत्रमा फुलको ब्यवसायीक खेती छैन’ नारायण नगरपालिका २ का स्थानीय टोपेन्द्र थापाले भने, ‘त्यसै कारण भारतबाट आयात गरीने प्लास्टिकका फुलमालाहरुको विगविगी छ ।’ किन्नलाई पनी सस्तो र लामो समयसम्म टिकाउ हुने हुँदा यस्ता फुलका मालामा नागरिकको आकर्षण वढेको थापाले बताए । ‘भाईटिकाका लागी हरेकले घरघरमा एक/दुई बोट लगाएकै हुन्छन्’ थापाले भने, ‘अन्य सजावटका लागी प्लास्टिकका फुलका मालाहरु बढी प्रयोग हुने गरेका छन् ।’
हरेक सिजनमा करीब एक लाख रुपयाँको प्लास्टिकका फुलमालाको कारोबार आँफुले गर्ने गरेको विगत लामो समय देखी दैलेख सदरमुकाममा कस्मेटिक पसल गर्दै आएका न्यु वुटवल कस्मेटिक पसलका प्रोप्राईटर इन्साफ अलिले सुनाए । ‘तिहारमा फुलमाला बिक्री हुने भनेको लक्ष्मी पुजापछी तिन दिन हो । यिनै तिन दिनमा करीब एक लाख बराबरको ब्यापार हुने गरेको अलिले वताए ।
यहाँका पसलहरु झिलिमिली देखिन्छन् । तिहार नजिकिएसंगै व्यापार गर्न आउनेहरुको संख्या पनि वढ्दो छ । टाढाबाट हेर्दा सजिएको मालाले वजारको मुहार नै फेरीएको छ । चाडपर्व नजिकिएसंगै व्यापार गर्न आउनेहरु पनि वढि देखिन्छन् । बजारमा भिडभाड रहेको छ, कतिपय गाडीहरु पनि सजिएर चलेको नारायण नगरपालिका १ का स्थानीय विनोद श्रेष्ठले वताए ।
दैलेखमा विषेश गरेर सयपत्री, मखमलि लगाएतका फुलहरुको व्यवसाय नहुने भएकाले प्लास्टिकका फुलमालाको राम्रो व्यापार हुने गरेको स्थानीय व्यापारीहरुको भनाई छ । फूलको पर्वले परिचित तिहारमा फूलकै अभाव हुने गरेको छ । पछिल्लो समयमा घरगाउँमा समेत फुल देख्न पाईदैन । ढकमक्क फुल्ने सयपत्रि र मखमली फुल लोपोन्मुख वन्दै गएको पश्चिम ठाँटिकाँध गाउँपालिका ४ का स्थानीय कलम शाहीले वताए ।

भाइटीकाको दिन चेलीबाट निधारमा सप्तरङ्गी टीका र गलाभरि माला पहिरिएर हिड्दा तिहार फूलकै पर्व हो भन्ने गरिए पनि अहिले फुलको विकल्पको रुपमा प्लाष्टिकका फुलमाला वजारमा आएको शाहीको वुझाई छ । सयपत्रीको विकल्पमा प्लास्टिकको माला प्रगोग गर्ने क्रम वर्षेनी बढ्दो छ । गाउँघरका करेसावारी तथा अन्य ठाउँमा ढकमक्क फुल्ने सयपत्री फूल अहिले देखिन छाडेको शाहीले वताए ।
सदरमुकाममा मात्र होइन जिल्लाका स–साना वजारहरूमा पनि भारतबाट आयात गरिएका कृत्रिम र प्लाष्टिकका फुलमालाहरूले झकिझकाउ छन् । आफ्नै घरमा उत्पादन हुने मखमली र सयपत्रीको मालामा भन्दा भारतबाट आयात गरिएका कृत्रिम र बनावटी फुलमालातर्फ मानिसहरू आकर्षित भएको नारायण नगरपालिका १ का वडाध्यक्ष सन्देश कुमार श्रेष्ठले वताए । पछिल्लो समयमा प्राकृतिक फूलको महत्वलाई बिर्सदै गएकाले पनि भारतबाट भित्रिएको बनावटी प्लाष्टिकको फुलमालाले स्थान जमाउन थालेको अध्यक्ष श्रेष्ठको भनाई छ । गाउँघरमा ढकमक्क फूल फुलेपनि देखाउनकै लागि प्लाष्टिकको माला प्रयोग गर्ने संस्कार हावी भएको अध्यक्ष श्रेष्ठको वुझाई छ ।
नक्कली मालाप्रति मानिसहरूको आकर्षण बढेकै कारण जिल्लामा यो वर्षको तिहारका लागि लाखौ मूल्य बराबरको प्लाष्टिकको फुलमाला भारतबाट भित्रिएको छ । वर्षेनी लाखौ रकम प्लाष्टिकका फुलमालामै खर्च भएको छ भने अर्कोतर्फ जिल्लाको रकम जिल्लाबाट बाहिरीने गरेको समाजसेवी पुर्णप्रसाद कोइराला बताउँछन् । देखावटी र महत्व नबुझेकै कारण तिहारमा सयपत्री, मखमली लगाएत स्थानीय जातका फूललाई मानिसहरूले भुल्दै गएको समाजसेवी कोइरालाले वताए । विशेषगरी भाइटिकाको दिन दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दुबोको मालाको अलगै महत्व भए पनि यो परम्परा हराउन थालेकोमा कोइरालाले चिन्ता व्यक्त गरे ।
मखमली कहिल्यै ओइलाउदैंन, सयपत्रीको रंग कहिल्यैँ उडेर जाँदैन भने दुबो सधैं हरियो रहन्छ भन्ने पौराणिक कथन रहेको नारायण नगरपालिका १ की ८१ वर्षिया इन्द्रा थापाले वताईन् । यसरी आफ्ना दाजु भाइको सम्बन्ध सयपत्री, मखमली र दुबोको माला जस्तै होस् भन्दै कामना गर्दै दिदीबहिनीले सप्तरंगी टिका लगाउने चलन आजसम्म कायमै रहेको थापाले वताईन् । सप्तरंगी टिकामा भावना मिसिँदा शान्ति वर्षिन्छ, दाजुभाइप्रतिको प्रेम रंग जस्तै गाढा तथा निरोगी भइरहने विश्वास भएपनि बनावटी प्लाष्टिकको मालाले भाइटिका मनाउने सँस्कार र्बिसर्दै गएको ८१ वर्षिया थापाको वुझाई छ ।

