राष्ट्रिय युवा संघ दैलेखको अध्यक्षमा शाही सर्वसम्मत निर्वाचित
जित बहादुर थापा/रोशन । २० कात्तिक, दैलेख
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी दैलेखको दशौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पूर्व जिल्ला उपाध्यक्ष समेत रहेका देवेन्द्रबहादुर शाहीको अध्यक्षतामा २७ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ । अधिवेशनबाट अध्यक्षमा शाही, उपाध्यक्षमा निरजकुमार माझी, सचिवमा अम्मरबहादुर खड्का, सह–सचिवमा चेतन आचार्य र विशाल सलामी तथा कोषाध्यक्षमा डब्बल शाही सर्वसम्मत निर्वाचित भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष शाहीले संगठनले आफूलाई दिएको जिम्मेवारीलाई अवसरसँगै चुनौती र दायित्वका रूपमा लिएको बताएका छन् । उनले राष्ट्रिय युवा संघलाई थप सशक्त, गतिशील, अनुशासित र व्यवस्थित बनाउँदै जिल्लाका सबै पालिका तथा वडा तहसम्म संगठन विस्तार गर्ने योजना रहेको बताए । युवाहरूलाई संगठनमा आबद्ध गराउने, उनीहरूको नेतृत्व क्षमता विकास गर्ने तथा सामाजिक, राजनीतिक र रचनात्मक गतिविधिमा सक्रिय सहभागिता गराउने विषयलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ ।
त्यसैगरी, युवाका हकहित, अधिकार र अवसरका सवालमा संगठनले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने नवनिर्वाचित अध्यक्ष शाहीले बताए । बेरोजगारी, सीप तथा रोजगारीको अभाव लगायत युवाका समस्यालाई सम्बन्धित निकायसम्म पुर्याउन आफू प्रतिबद्ध रहेको उनको भनाइ छ । युवाको ऊर्जा, क्षमता, दक्षता र सिर्जनशीलतालाई सही ढंगले परिचालन गर्न सके समाज परिवर्तन र राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने उनले विश्वास व्यक्त गरे ।
संगठनभित्र आपसी एकता, सहकार्य र अनुशासन कायम गर्दै सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष शाहीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको उद्देश्य र सामूहिक हितलाई प्राथमिकता दिने बताए । आगामी कार्यकालमा युवाको विश्वास र अपेक्षा अनुसार काम गर्ने उनको प्रतिबद्धता छ । नवनिर्वाचित अध्यक्ष शाहीले आफूलाई सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न सहयोग गर्ने अधिवेशन प्रतिनिधि, नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गर्दै सबैको साथ, सहयोग, सल्लाह र सुझावका आधारमा संगठनलाई अगाडि बढाउने बताए ।
अधिवेशनबाट सर्वसम्मत रूपमा चयन भएका नवनिर्वाचित अध्यक्ष शाही सहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । नयाँ नेतृत्वले युवाका भावना र आवश्यकतालाई समेट्दै जिल्लामा संगठनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

