बोलेरोको ठक्करबाट दैलेखमा एक जनाको मृत्यु

मातृभूमी संवाददाता । २५ कार्तिक, दैलेख
दैलेखमा बोलेरो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डुङ्गेश्वर गाउँपालिका–१ का २९ वर्षीय रमेश विक रहेका छन् । डुङ्गेश्वर गाउँपालिका–१ चुप्रा बजारबाट वडा नं. २ देउली बजारतर्फ जाँदै गरेको बोलेरो गाडीले ठक्कर दिँदा विकको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख जयसिंह गुरूका अनुसार डुङ्गेश्वर गाउँपालिका–१ स्थित समला टोलको घुम्तीमा रहेको उकालो सडकमा बोलेरो गाडीले विकलाई ठक्कर दिएको थियो ।
घटनामा संलग्न बोलेरो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडी चालक बर्दियाको बाँसगढी नगरपालिका–१ का २३ वर्षीय प्रतुस कँवर रहेको प्रहरीले जनाएको छ । प्रहरीले कर्णाली प्रदेश ०२–००१ च १८२६ नम्बरको बोलेरो गाडी नियन्त्रणमा लिएको हो । मृतक विकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गुरूले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *