दसैँ सकिएसँगै कर्मथलो फर्किने यात्रुको चाप बढ्यो, दैलेखबाट ३९ हजारभन्दा बढी बाहिरिए

जित बहादुर थापा/रोशन । ०८ कात्तिक, दैलेख
दसैँ मनाउन गाउँघर आएका सर्वसाधारण चाडपर्व सकिएसँगै कर्मथलो फर्किन थालेका छन् । कर्मचारी, विद्यार्थी, मजदुर, व्यवसायी लगायत विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति रोजगारी, अध्ययन तथा कामकाजका लागि जिल्ला बाहिर जान थालेपछि दैलेखका बसपार्कमा यात्रुको चहलपहल बढेको छ ।
दसैँ बिदा सकिएसँगै कर्णाली प्रदेशका विभिन्न जिल्ला, काठमाडौँ लगायत देशका अन्य सहरतर्फ जाने यात्रुको संख्या बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक जयसिंह गुरुले जानकारी दिए । गाउँघरमा दसैँ मनाउन आएका नागरिक निर्धारित समयमा कार्यक्षेत्रमा पुग्नुपर्ने भएकाले फर्किने क्रम बढेको उनले बताए । यात्रुको चाप बढेसँगै जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनमा समेत भीड बढ्न थालेको उनको भनाइ छ ।
दसैँ अवधिभर दैलेखमा ३ हजार २ सय ३ वटा सवारी साधन भित्रिएका छन् भने २ हजार ९ सय ५ वटा सवारी साधन बाहिरिएका छन् । यस अवधिमा विभिन्न ठाउँबाट दैलेख सदरमुकाम हुँदै बाहिरिने यात्रुको संख्या ३९ हजार ४९ रहेको ट्राफिक प्रमुख गुरुले बताए । उनका अनुसार दैलेख सदरमुकामबाट मात्रै २७ हजार ६ सय ४९ जना यात्रु बाहिरिएका छन् ।
दैलेख सदरमुकामबाट आवतजावत गर्ने सवारी साधनको चाप समेत बढेको छ । एकै समयमा धेरै यात्रु गन्तव्यतर्फ फर्किने भएकाले सवारी साधनको आवागमन व्यवस्थित बनाउन ट्राफिक प्रहरीले निगरानी बढाएको ट्राफिक प्रमुख गुरुले बताए ।
यात्रुको आवागमन सहज बनाउन, सवारी साधनको चाप व्यवस्थापन गर्न तथा सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी परिचालन गरिएको उनले जानकारी दिए । चाडपर्वपछि यात्रुको संख्या बढेसँगै जिल्लाका सडकमा निगरानी समेत बढाइएको छ । यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण निर्माण गर्न ट्राफिक प्रहरी सक्रिय रूपमा खटिएको बताए । सवारी साधनको चाप बढेको अवस्थामा ट्राफिक नियम पालना गर्न र सुरक्षित यात्रामा ध्यान दिन ट्राफिक प्रमुख गुरुले आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *