चाडपर्वमा गाउँ फर्किनेको भिड, दैलेख बसपार्कमा चहलपहल बढ्यो
जित बहादुर थापा/रोशन । २९ असोज, दैलेख
नेपालीहरूको महान् चाड बडादसैँ नजिकिएसँगै दैलेखमा घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । रोजगारी, ज्यालामजदुरी तथा उच्च शिक्षा अध्ययनका लागि जिल्ला बाहिर रहेका सर्वसाधारण दसैँ र तिहार मनाउन गाउँ फर्किन थालेपछि बसपार्कमा चहलपहल बढेको हो ।
सुर्खेत, नेपालगन्ज, काठमाडौँ लगायतका सहरमा बस्दै आएका विद्यार्थी तथा सर्वसाधारण परिवार र आफन्तसँग चाडपर्व मनाउन घर फर्किन थालेका छन् । यात्रुको चाप बढेसँगै सार्वजनिक यातायातमा अग्रिम सिट बुकिङ गर्ने क्रम समेत बढेको छ ।
दैलेखको भगवतीमाई गाउँपालिका–७ का जनक थापा रोजगारीका लागि भारत गए पनि दसैँ मनाउन घर फर्किएको बताउँछन् । रोजगारीका लागि घर बाहिर रहेका नागरिक गाउँ फर्किन थालेपछि जिल्लामा दसैँको रौनक बढेको उनले बताए । त्यस्तै, डुङ्गेश्वर गाउँपालिका–२ का जित बहादुर थापा पनि दसैँ मनाउन भारतबाट गाउँ फर्किएका छन् । दसैँ परिवार र आफन्तसँग मनाउन घर आएको उनले बताए ।
चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले यातायात व्यवस्थापन र यात्रुको सुरक्षालाई प्राथमिकता दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख जयसिंह गुरुले बताए । यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन, भाडामा हुने ठगी रोक्न तथा क्षमताभन्दा बढी यात्रु राख्ने कार्य नियन्त्रण गर्न बसपार्क र विभिन्न नाकामा ट्राफिक प्रहरी तथा नेपाल प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।
उनका अनुसार यात्रुलाई आवश्यक सहयोग उपलब्ध गराउन नारायण नगरपालिका–१ स्थित बसपार्क, गुराँस गाउँपालिका–५ को रानीमत्ता, दुल्लु नगरपालिका–७ को चाँदनी चोक र आठबीस नगरपालिका–४ को राकम बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
दैलेख सदरमुकामबाट जिल्लाका ११ वटै स्थानीय तह जोड्ने सडकको गुणस्तर कमजोर हुँदा यात्रुले सहज यात्रा गर्न कठिनाइ भोग्नुपरेको छ । यस्तो अवस्थामा चाडपर्वमा यात्रुको चाप बढ्दा दुर्घटनाको जोखिम समेत हुन सक्ने भएकाले सवारी साधनको अवस्था जाँच गर्ने, निर्धारित भाडादर कायम गराउने र क्षमताभन्दा बढी यात्रु राख्न नदिने व्यवस्थामा सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ ।

