त्रिदेशीय सडकका लागि ९० करोड बजेट सुनिश्चित, काँडाचौरबाट निर्माण सुरु हुने

जित बहादुर थापा/रोशन । ११ मंसिर, दैलेख
त्रिदेशीय सडक निर्माणका लागि दैलेखको काँडाचौरबाट काम सुरु गर्ने गरी ९० करोड रुपैयाँ बजेट सुनिश्चित भएको छ । रुपैडिया–नेपालगन्ज–सुर्खेत–दैलेख–महाबु–नाक्चेनाङ्ला सडकअन्तर्गत निर्माण कार्य अघि बढाउन आगामी तीन आर्थिक वर्षका लागि बजेटको स्रोत सुनिश्चित गरिएको हो ।
विवरण अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा १४ करोड ५० लाख रुपैयाँ, आगामी आर्थिक वर्ष २०८४/८५ मा ३७ करोड ७५ लाख रुपैयाँ र आर्थिक वर्ष २०८५/८६ मा थप ३७ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिनेछ । यससँगै तीन आर्थिक वर्षमा सडक निर्माणका लागि कुल ९० करोड रुपैयाँ बजेट सुनिश्चित भएको जनाइएको छ । बजेट सुनिश्चित भएपछि दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) का सांसद बासना थापाले लामो समयदेखि आयोजनाका लागि गर्दै आएको पहलले सार्थकता पाउन थालेको बताइन् । उनका अनुसार केही महिनाभित्रै सडक निर्माणका लागि टेन्डर आह्वान गरी काम अघि बढाउने तयारी छ ।
सांसद थापाले त्रिदेशीय सडक दैलेख क्षेत्र नम्बर १ मात्रै नभई समग्र जिल्लाकै रणनीतिक तथा पर्यटकीय महत्व बोकेको आयोजना भएको बताइन् । सडक निर्माण सम्पन्न भए साविक कर्णालीका जिल्लाहरूमा आवागमन सहज हुने, यात्रा दूरी छोटिने र यातायात सुविधामा सुधार आउने उनले बताइन् ।
सरकारले समेत सडकलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै थापाले दैलेखको महाबु क्षेत्र धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको स्थल भएकाले सडक विस्तारसँगै महाबुधाम अवलोकन गर्न आउने आन्तरिक पर्यटकको संख्या बढ्ने र जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने सांसद थापाले विश्वास व्यक्त गरिन् ।
यद्यपि, सुनिश्चित भएको ९० करोड रुपैयाँले सडकको सम्पूर्ण निर्माण कार्य सम्पन्न नहुने स्थानीय प्रकाश हमालले बताए । सडक पूर्ण रूपमा निर्माण गर्न थप बजेट आवश्यक पर्ने भएकाले सरकारले आगामी दिनमा पनि पर्याप्त बजेट विनियोजन गरी आयोजनालाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *