दैलेखमा लापसे र मापसे परीक्षणमा कडाइ, दुर्घटना न्यूनीकरण अभियान सञ्चालन
मातृभूमी संवाददाता । २६ असोज, दैलेख
दैलेखमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लागू पदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) परीक्षणमा कडाइ गरिएको छ । नारायण नगरपालिका १ स्थित मालपोत कार्यालय नजिक लापसे तथा मापसे परीक्षण अभियान सञ्चालन गरिएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको सहयोग, जिल्ला प्रहरी कार्यालय दैलेख र सशस्त्र प्रहरी बल नेपाल गुल्म मुख्यालय दैलेखको समन्वय, स्वास्थ्य सेवा कार्यालय दैलेखको प्राविधिक सहयोग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखको आयोजनामा अभियान सञ्चालन गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पुष्पराज रोकायले सवारी दुर्घटना रोक्न कानुनको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताए । मादक पदार्थ तथा लागूऔषध सेवन गरेर सवारी चलाउने प्रवृत्तिप्रति प्रहरीले शून्य सहनशीलताको नीति अवलम्बन गरेको उनले बताए । चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै प्रहरी निरीक्षक रोकायले सडक सुरक्षालाई साझा जिम्मेवारीका रूपमा लिएर प्रहरीसँग सहकार्य गर्न समेत आह्वान गरे ।
सुर्खेत–दैलेख सडकखण्डमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपाल गुल्म मुख्यालय दैलेखका डीएसपी मातृका पौडेलले बताए । उनका अनुसार अभियानले चालकहरूमा सचेतना अभिवृद्धि गर्नुका साथै दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
मादक पदार्थसँगै लागूऔषध सेवन गरेर पनि सवारी चलाउने क्रम देखिएकाले परीक्षण अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख जयसिंह गुरुले जानकारी दिए । चालक तथा सहचालकले लापसे वा मापसे गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक बढ्ने भएकाले निगरानी बढाइएको उनले बताए ।
कार्यालय प्रमुख गुरुले दैनिकजसो सवारी जाँच भइरहेको र नियम उल्लंघन गरी सवारी चलाउनेलाई कारबाही स्वरूप जरिवाना गरिने गरेको जानकारी दिए । यसैगरी, यात्रुवाहक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राखे–नराखेको, यात्रुको भीडभाड भए–नभएको, तोकिएभन्दा बढी भाडा लिए–नलिएको तथा चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भए–नभएको विषयमा समेत अनुगमन भइरहेको उनले बताए ।

