वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न, पगनाथ प्रथम
मातृभूमी संवाददाता । २५ असोज, दैलेख
दैलेखको भगवतीमाई गाउँपालिका–७ मा सञ्चालन भएको वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । असोज २२ गतेदेखि भैरव माध्यमिक विद्यालय खेरको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगितामा भगवतीमाई गाउँपालिका–१ पगनाथको टोली प्रथम भएको छ ।
प्रतियोगितामा प्रथम भएको पगनाथको टोलीले नगद ५० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको वडा सचिव अम्बर बहादुर भण्डारीले जानकारी दिए । त्यस्तै, आयोजक भगवतीमाई गाउँपालिका–७ को टोली द्वितीय हुँदै नगद ३५ हजार रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको उनले बताए । भगवतीमाई गाउँपालिका–४ जगनाथको टोली तृतीय हुँदै नगद २० हजार रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको सचिव भण्डारीले जानकारी दिए ।
सचिव भण्डारीका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ । यस्ता प्रतियोगिताले खेलाडीबीच आपसी चिनजान, भाइचारा र खेलप्रतिको रुचि बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।
प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथिका भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले स्थानीयस्तरमा खेलकुदको विकास, युवाको प्रतिभा पहिचान तथा खेलाडीबीच आपसी सद्भाव र सहकार्य अभिवृद्धि गर्न प्रतियोगिताले सहयोग पुग्ने बताए । स्थानीय खेलाडीको क्षमता अभिवृद्धि गर्ने र युवालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले उल्लेख गरे ।
अध्यक्ष थापाले यस्ता प्रतियोगिताले गाउँपालिकाभित्र खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नुका साथै लुकेर रहेका प्रतिभा उजागर गर्न सहयोग पुग्ने बताए । खेलकुदका माध्यमबाट युवामा अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गर्न पनि यस्ता कार्यक्रम महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
त्यसैगरी, भगवतीमाई गाउँपालिका–७ का वडाध्यक्ष पूर्णबहादुर थापाले वडामा खेलकुद गतिविधि सञ्चालन गरी युवाको प्रतिभा पहिचान र विकासमा जोड दिइएको बताए । स्थानीय खेलाडीलाई प्रोत्साहन गर्न तथा आगामी दिनमा खेलकुद गतिविधिलाई निरन्तरता दिन यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।

