दैलेखमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष’ स्थापना
मातृभूमी संवाददाता । २२ असोज, दैलेख
चाडपर्वलाई लक्षित गर्दै दैलेखका चार स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । यात्रुको सुरक्षा, सहज यात्रा र यातायात क्षेत्रमा हुन सक्ने ठगी तथा अन्य समस्या न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखको संयुक्त पहलमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख जयसिंह गुरुले यात्राका क्रममा कुनै समस्या परेमा यात्रुहरूले सहायता कक्षमा सम्पर्क गर्न सक्ने बताए । उनले जिल्लाभित्र सञ्चालन हुने तथा बाहिरी जिल्लाबाट दैलेख भित्रिने सवारी साधनका यात्रुलाई पर्ने समस्या तत्काल सम्बोधन गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको बताए ।
चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले नारायण नगरपालिका १ स्थित बसपार्कमा मुख्य सहायता कक्ष स्थापना गरिएको छ । यात्रुलाई बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, सामान हराउने तथा अन्य समस्या हुन नदिन २४ घण्टा सहायता कक्ष सञ्चालन गरिएको प्रमुख गुरुले बताए । यस्तै गुराँस गाउँपालिका ५ रानिमत्ता, दुल्लु नगरपालिका ७ चाँदनी चोक र आठबीस नगरपालिका ४ राकम बजारमा पनि यात्रु सहायता कक्ष स्थापना गरिएको बताए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पुष्पराज रोकायले सहायता कक्षमा प्रहरी परिचालन गरी यात्रुका गुनासा सुन्ने र आवश्यक सहयोग गर्ने व्यवस्था मिलाइएको बताए । उनले कर्णाली राजमार्ग अर्न्तगत सुर्खेतबाट तल्लो डुङ्गेश्वर हुँदै राकमतर्फ तथा पुष्पलाल (मध्यपहाडी) राजमार्ग अर्न्तगत दैलेख सदरमुकाम हुँदै आवतजावत गर्ने सवारी साधनको निगरानी र अनुगमन गरिने बताए ।
यात्रुहरूले जिल्ला प्रहरी कार्यालय वा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा फोन गरेर तथा ड्युटीमा खटिएका प्रहरीलाई प्रत्यक्ष भेटेर आफ्ना गुनासा राख्न सक्ने प्रहरी निरीक्षक रोकायले बताए । चाडपर्वको मौका छोपेर फर्जी टिकट बिक्री गर्ने, दोहोरो टिकट काट्ने, बढी भाडा असुल्ने तथा क्षमताभन्दा बढी यात्रु बोक्ने गतिविधि नियन्त्रणमा सहायता कक्ष प्रभावकारी हुने उनको भनाइ छ ।
दसैं मनाउन देशका विभिन्न स्थान तथा भारत लगायतका देशबाट सर्वसाधारण दैलेख फर्किन थालेपछि जिल्लामा सार्वजनिक यातायातमा यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि हुनसक्ने भएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि विभिन्न स्थानमा प्रहरी परिचालन गरी निगरानी बढाइएको प्रहरी निरीक्षक रोकायले बताए । उनले चाडपर्वका समयमा यात्रुलाई सहज र सुरक्षित यात्रा गराउन तोकिएको भाडा मात्र लिन तथा क्षमताभन्दा बढी यात्रु नराख्न यातायात व्यवसायीलाई आग्रह समेत गरेका छन् ।

