हँसिया प्रहारबाट एक जनाको मृत्यु, तिन जना घाइते

मातृभूमी संवाददाता । २२ कार्तिक, दैलेख
दैलेखको ठाँटिकाँधमा हँसिया प्रहारबाट एक जनाको मृत्यू भएको छ । ठाटीकाँध गाउँपालिका ४ धनकोटमा एकै परिवारका तिन जना घाइते भएका छन् भने ४५ वर्षीया बिमा मगरको उपचारका क्रममा मृत्यु भएको छ ।
शनिबार साँझ करिब ५ बजे स्थानीय बमबहादुर रावतले चन्द्रबहादुर पुन मगरको घरमा पुगेर घरेलु हतियार हँसिया प्रहार गर्नुका साथै कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी तथा प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिए । उनले क्रमणबाट चन्द्रबहादुर पुनकी श्रीमती ४५ वर्षीया बिमा मगरको मृत्यू भएको र भाइ बुहारी २५ वर्षीया मैसरा पुन, छोरीहरू २० वर्षीया लक्ष्मी पुन र २३ वर्षीया तिला पुन घाइते भएको बताए ।
घटनामा बिमा मगरको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख ल्याइएकोमा आइतबार दिउँसो १ बजेर ५८ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक रोकायले बताए ।
त्यस्तै, मैसरा पुनका दुवै हातका हत्केलामा गम्भीर चोट लागेको छ भने लक्ष्मी र तिला पुनको अवस्था मध्यम रहेको उनको भनाई छ । घाइते तीन जनालाई थप उपचारका लागि हेलिकप्टर मार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको उनले बताए ।
घटनामा संलग्न भएको आरोपमा बमबहादुर रावतलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रोकायले बताए । घटनाको थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको छ । घटनाको कारण भने खुल्न सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *