दैलेखमा लापसे र मापसे परीक्षणमा कडाइ
मातृभूमी संवाददाता । २१ कार्तिक, दैलेख
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले दैलेखमा लागूऔषध सेवन (लापसे) तथा मादक पदार्थ सेवन (मापसे) परीक्षण अभियानलाई कडाइ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले नारायण नगरपालिका–८ स्थित ठालुडाँडामा ट्राफिक कार्यालय नजिकै परीक्षण अभियान सञ्चालन गरेको हो ।
सुर्खेत–दैलेख सडकखण्डमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख जयसिंह गुरुले जानकारी दिए । उनका अनुसार अभियानले चालकहरूमा सचेतना अभिवृद्धि गर्नुका साथै सम्भावित दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
मादक पदार्थ सेवन गरेर मात्र नभई लागूऔषध सेवन गरी समेत सवारीसाधन चलाउने गरेको पाइएकाले परीक्षण अभियानलाई तीव्रता दिइएको कार्यालय प्रमुख गुरुले बताए । चालक तथा सहचालकले लापसे वा मापसे गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक बढ्ने भएकाले निगरानी र जाँचमा कडाइ गरिएको उनको भनाइ छ ।
ट्राफिक प्रहरीले दैनिकजसो सवारीसाधन जाँच गर्दै आएको र नियम उल्लंघन गरी सवारी चलाउने चालकलाई नियमानुसार जरिवाना सहित कारबाही गर्ने गरेको जनाएको छ ।
यसैगरी, यात्रुवाहक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु राखे–नराखेको, यात्रुको भीडभाड भए–नभएको, तोकिएभन्दा बढी भाडा असुल गरे–नगरेको तथा चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भए–नभएको विषयमा समेत नियमित अनुगमन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

