राष्ट्रिय युवा संघ दैलेखको दशौँ जिल्ला अधिवेशन कात्तिक १९ र २० गते, अध्यक्षमा शाहीको चर्चा

मातृभूमी संवाददाता । १५ कार्तिक, दैलेख
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी दैलेखको दशौँ जिल्ला अधिवेशन आगामी कात्तिक १९ र २० गते दैलेख सदरमुकाममा हुने भएको छ । नयाँ नेतृत्व चयन तथा संगठनको आगामी कार्यदिशा तय गर्ने उद्देश्यले अधिवेशन आयोजना गर्न लागिएको हो ।
जिल्ला कमिटीको गत असोज २८ गते बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो । नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीको दुईवर्षे कार्यकाल पूरा हुन लागेसँगै नयाँ नेतृत्व चयनका लागि अधिवेशन गर्न लागिएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी दैलेखका उपाध्यक्ष देवेन्द्रबहादुर शाहीले जानकारी दिए ।
अधिवेशनको पहिलो दिन कात्तिक १९ गते बिहान ११ बजे उद्घाटन समारोह आयोजना गरिने छ । उद्घाटन कार्यक्रम जिल्ला पार्टी कार्यालयको सभाहलमा हुने उपाध्यक्ष शाहीले बताए । अधिवेशनमा जिल्लाका विभिन्न पालिकाबाट युवा प्रतिनिधि तथा संगठनमा आबद्ध व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
अधिवेशनको मिति तय भएसँगै नयाँ नेतृत्व चयनको विषयले संगठनभित्र चर्चा पाउन थालेको छ । जिल्ला अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष शाहीको नाम सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहेको छ ।
संगठनमा लामो समयदेखि आबद्ध शाहीले जिल्ला कमिटी सदस्य, उपसचिव र उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । संगठनका विभिन्न तहमा रहेर काम गरेको अनुभवका आधारमा उहाँको सम्भावित उम्मेदवारीलाई चासोका साथ हेरिएको छ । यद्यपि, अध्यक्ष पदमा उम्मेदवारी दिने वा नदिने र आगामी नेतृत्व कसले सम्हाल्ने भन्ने विषय अधिवेशनको प्रक्रिया तथा प्रतिनिधिहरूको निर्णयबाट टुंगो लाग्नेछ ।
दशौँ जिल्ला अधिवेशनले नयाँ जिल्ला नेतृत्व चयन गर्नुका साथै संगठनको आगामी कार्ययोजना र कार्यदिशासमेत तय गर्नेछ । विशेषगरी जिल्लामा युवा परिचालन, संगठन विस्तार, नेतृत्व विकास तथा युवाका सामाजिक, आर्थिक र राजनीतिक सवालमा संगठनले खेल्ने भूमिकाका विषयमा छलफल हुने उपाध्यक्ष शाहीले बताए ।
नेकपा एमालेको युवा संगठनका रूपमा रहेको राष्ट्रिय युवा संघ नेपालले युवाको हकहित, नेतृत्व विकास, सामाजिक रूपान्तरण तथा राजनीतिक चेतना अभिवृद्धिका क्षेत्रमा काम गर्दै आएको छ । अधिवेशनले जिल्लामा संगठनलाई थप व्यवस्थित, सुदृढ र सक्रिय बनाउनुका साथै नयाँ पुस्ताका युवालाई संगठनमा जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *