दैलेखमा वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु


दैलेखको भगवतीमाई गाउँपालिकामा वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ प्रतियोगिता भगवतीमाई गाउँपालिका ७ स्थित भैरव माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले खेलकुदको विकासका लागि स्थानीय सरकारको सहयोग रहने बताए । उनले खेलकुद सम्बन्धी यस्ता कार्यक्रमले खेलाडीमा उत्साह र उत्प्रेरणा बढाउने भएकाले स्थानीयस्तरमा नियमित रूपमा खेलकुदका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका विशेष अतिथि गाउँपालिकाका उपाध्यक्ष मिना खड्काले खेलकुदका कार्यक्रमले स्थानीयस्तरमा खेलकुद विकासको आधार तयार गर्ने बताइन् । उहाँले प्रतियोगितामा सहभागी खेलाडीले स्वच्छ, निष्पक्ष र अनुशासित रूपमा खेलको मर्यादा कायम गर्दै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्ने विश्वास व्यक्त गरिन ।
यस्तै, भगवतीमाई गाउँपालिका ७ का वडाध्यक्ष पूर्णबहादुर थापाले कुनै पनि कामको सुरुवात सँगै त्यसलाई निरन्तरता दिन आवश्यक रहेको बताए । उनले स्थानीयस्तरमा खेलकुदको विकास, युवाको सहभागिता वृद्धि तथा वडाभित्र रहेका खेल प्रतिभाको पहिचान र प्रवद्र्धनमा वडा कार्यालयले प्राथमिकता दिने बताए ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५५ हजार रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भगवतीमाई गाउँपालिका ७ का वडा सचिव अम्बर बहादुर भण्डारीले जानकारी दिए । यसैगरी द्वितीय हुने टोलीले नगद ३५ हजार तथा तृतीय हुने टोलीले २० हजार रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए ।
प्रतियोगिताको मुख्य उद्देश्य स्थानीयस्तरमा रहेका खेलाडीको प्रतिभा पहिचान गर्नुका साथै युवालाई खेलकुदमा आकर्षित गर्नु रहेको उनले बताए । प्रतियोगिताले वडाभित्र तथा आसपासका क्षेत्रमा रहेका प्रतिभाशाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने वडा सचिव भण्डारीले बताए ।
प्रतियोगिता व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक तयारी गरिएको उनले जानकारी दिए । खेलाडी तथा दर्शकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै खेलमैदानमै प्राथमिक उपचारका लागि हेल्थ डेस्क समेत स्थापना गरिएको वडा सचिव भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *