डुङ्गेश्वरमा पोषण लेखाजोखा अभियान सम्पन्न, ४५ बालबालिका कुपोषित भेटिए
जित बहादुर थापा/रोशन । १७ असोज, दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिकामा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था पहिचान तथा वृद्धि अनुगमनका लागि सञ्चालन गरिएको पोषण लेखाजोखा अभियान सम्पन्न भएको छ । एरेष्ट क्वालव दैलेखको आर्थिक सहयोग तथा डुङ्गेश्वर गाउँपालिकाको स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा पोषण लेखाजोखा अभियान सम्पन्न भएको हो ।
पोषण लेखाजोखा अभियान अभियानका क्रममा ६ देखि ५९ महिनासम्मका ६ सय ५२ जना बालबालिकाको पोषण अवस्था परीक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य निरीक्षक दीपक रावतले जानकारी दिए । परीक्षण गरिएका बालबालिकामध्ये ६ सय ७ जना सामान्य पोषण अवस्थामा रहेको पाइएको छ । ४५ जना मध्यम शीघ्र कुपोषित र एक जना कडा शीघ्र कुपोषित अवस्थामा रहेको उनले बताए ।
कुपोषणको जोखिममा रहेका बालबालिकालाई समयमै पहिचान गरी आवश्यक परामर्श तथा उपचार सेवामा जोड्न अभियान प्रभावकारी हुने वरिष्ठ जनस्वास्थ्य निरीक्षक रावतको भनाइ छ । गर्भवती तथा सुत्केरी र स्तनपान गराइरहेका महिलाको समेत पोषण अवस्था लेखाजोखा गरिएको उनले बताए ।
गर्भवती महिलामध्ये ६६ जना सामान्य पोषण अवस्थामा रहेका छन् भने ३० जना मध्यम शीघ्र कुपोषित र ३ जना कडा शीघ्र कुपोषित अवस्थामा रहेको पाइएको छ । त्यस्तै, सुत्केरी तथा स्तनपान गराइरहेका महिलामध्ये १२ जना मध्यम शीघ्र कुपोषित र ६ जना कडा शीघ्र कुपोषित अवस्थामा रहेको उनले दिए ।
अभियानबाट प्राप्त तथ्यांकले गाउँपालिकाभित्र बालबालिका तथा महिलामा रहेको कुपोषणको अवस्था पहिचान गर्न आधार तयार गरेको वरिष्ठ जनस्वास्थ्य निरीक्षक रावतले बताए । पहिचान भएका मध्यम तथा कडा शीघ्र कुपोषित बालबालिका तथा महिलालाई आवश्यक स्वास्थ्य सेवा तथा परामर्शसँग जोड्दै नियमित अनुगमन गरिने उनको भनाइ छ ।
पोषण लेखाजोखा अभियानले गाउँपालिकाभित्र बालबालिका तथा महिलाको वास्तविक पोषण अवस्था पहिचान गर्न महत्वपूर्ण सहयोग पुगेको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण खत्रीले बताए । कुपोषण देखिएका बालबालिका तथा महिलालाई स्वास्थ्य संस्था मार्फत आवश्यक परामर्श, पोषण सम्बन्धी सेवा तथा थप व्यवस्थापनमा जोड दिइएको उनले जानकारी दिए ।
बालबालिकाको वृद्धि तथा विकासमा पोषणको महत्वपूर्ण भूमिका हुने भएकाले परिवार तथा समुदायस्तरमै पोषण सम्बन्धी सचेतना बढाउन आवश्यक रहेको स्वास्थ्य शाखा प्रमुख खत्रीले बताए । गर्भवती तथा स्तनपान गराइरहेका महिलाको पोषण अवस्थाले आमा र बच्चा दुवैको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले नियमित स्वास्थ्य परीक्षणसँगै सन्तुलित आहारमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
गाउँपालिकाले आगामी दिनमा पनि पोषण सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै जोखिममा रहेका बालबालिका तथा महिलाको पहिचान, उपचार र व्यवस्थापनलाई प्राथमिकता दिने जनाएको छ । स्थानीय तहमा नियमित पोषण लेखाजोखा, स्वास्थ्य शिक्षा तथा समयमै उपचार र परामर्श उपलब्ध गराउन सके कुपोषण न्यूनीकरणमा थप सहयोग पुग्ने स्वास्थ्य शाखा प्रमुख खत्रीले बताए ।

