कर्णाली राजमार्गमा लापसे–मापसे तथा छड्के सवारी जाँच, दुई चालकको रिपोर्ट पोजेटिभ

मातृभूमी संवाददाता । १६ असोज, दैलेख
सवारी दुर्घटना न्यूनीकरण तथा नजिकिँदै गरेका चाडपर्वका समयमा यात्रुको सुरक्षित आवतजावत सुनिश्चित गर्ने उद्देश्यले दैलेखको कर्णाली राजमार्गमा लापसे–मापसे तथा छड्के सवारी जाँच गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वय तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा, ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको सहजीकरणमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखको प्राविधिक सहयोगमा कर्णाली राजमार्ग अर्न्तगत पाल्तडामा सवारी जाँच गरिएको हो ।
‘नशालु पदार्थको सेवन गरी सवारी साधन नचलाऔँ, ट्राफिक नियमको पालना गरौँ’ भन्ने सन्देशसहित गरिएको चेकजाँचका क्रममा चालकले मादक तथा लागुपदार्थ सेवन गरे– नगरेको, सवारी साधनको अवस्था, आवश्यक कागजात, यात्रुको संख्या तथा सवारी सञ्चालनको तरिका लगायतका विषयमा निगरानी गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख जयसिंह गुरुले जानकारी दिए ।
चेकजाँचका क्रममा शंकास्पद देखिएका चार जना चालकको लापसे परीक्षण गरिएको उनले बताए । परीक्षणमा दुई जना चालकको रिपोर्ट पोजेटिभ देखिएको प्रमुख गुरुले जानकारी दिए । लागुपदार्थ सेवन गरेको देखिएका दुवै चालकलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दुल्लु पठाइएको उनको भनाई छ ।
चेकजाँचका क्रममा एक सयभन्दा बढी सवारी साधन परीक्षण गरिएको थियो । सार्वजनिक तथा निजी सवारी साधन रोकेर चालकको सवारी चालक अनुमतिपत्र, आवश्यक कागजात, सवारी साधनको अवस्था तथा यात्रुको संख्या लगायतका विषयमा परीक्षण गरिएको प्रमुख गुरुले बताए ।
त्यस्तै, सवारी साधनले निर्धारित क्षमताभन्दा बढी यात्रु बोकेको छ कि छैन, चालकले तीव्र गतिमा सवारी चलाएको छ कि छैन, सवारी साधन नियम अनुसार सञ्चालन भएको छ कि छैन तथा चालकले मादक वा लागुपदार्थ सेवन गरेको छ कि छैन भन्ने विषयमा समेत कडाइका साथ निगरानी गरिएको थियो ।
छड्के सवारी जाँचका क्रममा विभिन्न किसिमका ट्राफिक नियम उल्लंघन गर्ने ३० भन्दा बढी सवारी साधनलाई जरिवाना तथा कारबाही गरिएको उनले बताए । चाडपर्वको समयमा कर्णाली राजमार्गमा सवारी साधनको चाप अझ बढ्ने भएकाले आगामी दिनमा पनि सवारी चेकजाँचलाई निरन्तरता दिइने प्रमुख गुरुले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *