डुङ्गेश्वर–२ मा पालिकास्तरीय पुरुष भलिबल, ब्याडमिन्टन र तानडोरी प्रतियोगिता हुने
मातृभूमी संवाददाता । १५ असोज, दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिका २ मा पालिकास्तरीय पुरुष खुला भलिबल, ब्याडमिन्टन तथा तानडोरी प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित वडा कार्यालयको आयोजनामा यही असोज २९ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगिता डुङ्गेश्वर गाउँपालिका २ स्थित जनकल्याण माध्यमिक विद्यालय, सेर्माकोटको प्राङ्गणमा सञ्चालन हुने वडा सचिव दुर्योधन वि.सी.ले जानकारी दिए । पुरुष खुला भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले ७० हजार रुपैयाँ, द्वितीयले ३५ हजार रुपैयाँ र तृतीय हुने टोलीले २० हजार रुपैयाँ नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी खेलाडी दैलेख जिल्लाभित्रका सम्बन्धित स्थानीय तहका नागरिक हुनुपर्नेछ भने सबै खेलाडीले अनिवार्य रूपमा जर्सी लगाउनुपर्ने व्यवस्था गरिएको छ । भलिबलमा एक टोलीबाट ९ जना खेलाडी, एक जना प्रशिक्षक र एक जना टिम व्यवस्थापक गरी १२ जना सहभागी हुन पाउनेछन्। प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ । सेमिफाइनल खेल तीन सेट र फाइनल खेल पाँच सेटमा सञ्चालन हुने वडा सचिव वि.सी.ले बताए ।
कुनै खेलाडीमाथि प्रोटेस्ट गर्नुपर्ने भए खेल समाप्त भएको ३० मिनेट भित्र प्रमाण सहित आयोजक समक्ष उजुरी दिनुपर्ने व्यवस्था गरिएको छ । यस्तै, पालिकास्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुने खेलाडीले १५ हजार, द्वितीयले ८ हजार र तृतीयले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । ब्याडमिन्टनतर्फ टिम दर्ता शुल्क २ हजार रुपैयाँ तोकिएको छ ।
तानडोरी प्रतियोगितामा प्रथम हुने टोलीले १५ हजार, द्वितीयले ८ हजार र तृतीयले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने दर्ता शुल्क २ हजार रुपैयाँ निर्धारण गरिएको छ । भलिबलतर्फ भने टिम दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीका खेलाडीको खाना तथा बसोबासको व्यवस्था सम्बन्धित टोलीले नै गर्नुपर्ने छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले असोज २७ गते साँझ ५ बजेसम्म अनिवार्य रूपमा टोली दर्ता गरिसक्नुपर्ने वडा अध्यक्ष यम बहादुर बिष्टले जानकारी दिए । स्थानीयस्तरमा खेलकुदको विकास गर्ने, युवाको सहभागिता बढाउने तथा पालिकाभित्र रहेका खेल प्रतिभाको पहिचान र प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष बिष्टले बताए ।

