वडाभैरव आधारभूत विद्यालयको ३४ लाख आय, ३३ लाख खर्च
मातृभूमी संवाददाता । १४ असोज, दैलेख
दैलेखको नारायण नगरपालिका ११ जुफियास्थित वडाभैरव आधारभूत विद्यालयले आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय सार्वजनिक गरेको छ । विद्यालयले सामाजिक लेखापरीक्षण मार्फत एक वर्षको अवधिमा विभिन्न स्रोतबाट प्राप्त ३४ लाख ६ हजार ९ सय १९ रुपैयाँ ८० पैसा आम्दानी र ३३ लाख २३ हजार ८ सय ७ रुपैयाँ ४२ पैसा खर्च भएको विवरण सार्वजनिक गरेको हो ।
विद्यालयको आर्थिक विवरण अनुसार वर्षको अन्त्यमा ८३ हजार १ सय १२ रुपैयाँ ३८ पैसा बचत रहेको प्रधानाध्यापक मनसरा थापा मगरले जानकारी दिइन् । विद्यालयले सरकारी अनुदान तथा स्थानीय तहबाट प्राप्त रकम सहित विभिन्न स्रोतबाट जुटेको बजेट शिक्षक तथा कर्मचारीको तलब भत्ता, विद्यार्थी केन्द्रित कार्यक्रम, विद्यालय सञ्चालन र शैक्षिक सामग्रीमा खर्च गरेको उनले बताइन् ।
विद्यालयको सबैभन्दा ठूलो खर्च शिक्षक तथा कर्मचारीको तलब भत्तामा भएको प्रधानाध्यापक थापा मगरले बताइन् । यस शीर्षकमा मात्रै २९ लाख ३३ हजार ७ सय ८८ रुपैयाँ ८० पैसा खर्च भएको छ । यो विद्यालयको कुल खर्चको ठूलो हिस्सा हो ।
विद्यार्थी केन्द्रित कार्यक्रममा पाठ्यपुस्तक खरिदमा ५६ हजार ८ सय ५६ रुपैयाँ, छात्रवृत्तिमा २० हजार ८ सय रुपैयाँ र दिवा खाजामा २ लाख २२ हजार ५ सय रुपैयाँ खर्च भएको प्रधानाध्यापक थापा मगरले बताइन् । त्यस्तै, पोषक भत्तातर्फ ५० हजार रुपैयाँ निकासा भएको विद्यालयले जनाएको छ ।
विद्यालय सञ्चालन तथा मसलन्दका लागि २० हजार रुपैयाँ, शैक्षिक योजनाका लागि १५ हजार रुपैयाँ र सामाजिक लेखापरीक्षणका लागि १० हजार रुपैयाँ खर्च भएको उनले बताइन् । सेनेटरी प्याड खरिदमा २० हजार १ सय रुपैयाँ तथा बुक कर्नर र शैक्षिक सामग्री खरिदमा १८ हजार २ सय ५० रुपैयाँ खर्च भएको प्रधानाध्यापक थापा मगरले बताइन् ।
नारायण नगरपालिकाबाट इन्टरनेट महसुलका लागि १५ हजार रुपैयाँ तथा वडा कार्यालयबाट २४ हजार ६ सय २५ रुपैयाँ प्राप्त भएको विवरणमा उल्लेख छ । विद्यालयको आर्थिक गतिविधिलाई पारदर्शी र जवाफदेही बनाउन हरेक वर्ष सामाजिक लेखापरीक्षण मार्फत आय–व्यय सार्वजनिक गर्दै आएको प्रधानाध्यापक थापा मगरले बताइन् । विद्यालयमा प्राप्त रकम विद्यार्थीको शैक्षिक सुधार, विद्यालय सञ्चालन र आवश्यक व्यवस्थापनका क्षेत्रमा खर्च गर्दै आएको उनको भनाइ छ ।
सामाजिक परीक्षणका क्रममा मनधरी मल्लले विद्यालयको शैक्षिक अवस्था, विद्यार्थीको सिकाइ उपलब्धि तथा विद्यालयका गतिविधिको मूल्यांकनमा सामाजिक परीक्षणको महत्वपूर्ण भूमिका रहने प्रधानाध्यापक थापा मगरले बताइन् । उनले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक र विद्यालयबीच निरन्तर सहकार्य आवश्यक रहेको बताइन् ।
विद्यालयले आगामी दिनमा विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि, शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास तथा विद्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्य सहित विद्यालय सुधार योजना कार्यान्वयन गर्ने जनाएको छ ।

