देउसीभैलो खेलेर संकलित रकम क्यान्सर पीडित बडुवाललाई सहयोग
मातृभूमी संवाददाता । २७ कात्तिक दैलेख
दैलेखको ठाँटिकाँध गाउँपालिका ४ गैरागाउँका नवयुवा तथा विद्यार्थीहरूले देउसीभैलो खेलेर संकलन गरेको रकम क्यान्सर पीडित केवल बडुवाललाई आर्थिक सहयोग गरेका छन् । नवयुवा तथा विद्यार्थीहरूले तिहारका अवसरमा देउसीभैलो खेलेर संकलन गरेको ५ हजार २५ रुपैयाँ क्यान्सर पीडित बडुवालको उपचारका लागि सहयोग गरेका हुन् । आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको अवस्थामा युवाहरूले सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग गरेको बडुवालका आफन्तले जानकारी दिएका छन् ।
झण्डै पाँच–छ महिनादेखि क्यान्सर जस्तो घातक रोगबाट ग्रसित बडुवालको नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचारमा ठूलो रकम खर्च हुने भएपछि आर्थिक अभावका कारण थप समस्या भइरहेको सिजापतिका माइला भाई भद्र सिजापतिले बताए । उनको उपचारका लागि देश तथा विदेशमा रहेका आफन्त, इष्टमित्र र शुभेच्छुकहरूले आर्थिक सहयोग जुटाउँदै आएका छन् ।
यसै क्रममा गैरागाउँका नवयुवा तथा विद्यार्थीहरूले देउसीभैलो खेलेर संकलन गरेको रकम सहयोग गरेका हुन् । सानो रकम भए पनि दुःखमा परेका व्यक्तिलाई सहयोग गर्ने युवाहरूको यो प्रयासले मानवीय सहयोग र सामाजिक एकताको सन्देश दिएको छ ।
क्यान्सर पीडित सिजापतिको उपचारमा सहयोग गर्न चाहने व्यक्तिहरूले उहाँका आफन्त केवल बडुवालको KEBAL BADUWAL नाममा रहेको एनएमबी बैंकको खाता नम्बर १०४०२२१६००५०००१२ मा रकम जम्मा गर्न सकिने आफन्तले जनाएका छन् ।

