श्रीस्थान–नाभिस्थान सडकः आस्था, इतिहास र विकासप्रति राज्यको बेवास्ता

मातृभूमी संवाददाता । ३० असार दैलेख
दैलेखको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको श्रीस्थान–नाभिस्थान क्षेत्र जोड्ने सडक निर्माणमा वर्षौँदेखि प्रगति हुन नसक्दा नागरिकले बर्षौदेखी सास्ती भोग्दै आएका छन् । भैरवी गाउँपालिका १ को मध्यपहाडी राजमार्गदेखी श्रीस्थान–नाभिस्थान सडक खण्ड र दैलेख सदरमुकामको पुरानो वजारदेखी श्रीस्थान जोड्ने सडक निर्माणमा ढिलासुस्ती हुँदा स्थानीय नागरिक र बाह्य जिल्लावाट दर्शन गर्न पुग्ने नागरिकले बर्षौदेखी सास्ती खेप्दै आएका छन् ।
कर्णाली प्रदेशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित श्रीस्थान–नाभिस्थान क्षेत्रसम्म सहज पहुँच मार्ग नहुँदा श्रद्धालु, पर्यटक तथा स्थानीयवासीले सास्ती खेप्नु परेको कैलालीबाट पञ्चकोशी गर्न आएका निरज सापकोटाले गुनासो गरे । कर्णाली प्रदेश र पुर्वाधार विकास कार्यालय दैलेखबाट विभिन्न समयमा सडक निर्माण सम्बन्धी योजना पारित भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको स्थानीयको भनाइ छ ।
स्थानीयका अनुसार निर्वाचनका बेला विकासका प्रतिबद्धता जनाउने जनप्रतिनिधिहरू निर्वाचित भएपछि उक्त सडक निर्माणलाई प्राथमिकतामा राख्न नसकेको आरोप लाग्दै आएको छ । उनीहरूले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको क्षेत्रमा पहुँच मार्ग निर्माणमा ढिलाइ हुनु जिल्लाकै बेइज्जत भएका बताएका छन् ।
श्रीस्थान–नाभिस्थान क्षेत्र धार्मिक आस्थासँगै पर्यटन प्रवद्र्धनको दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । भैरवी गाउँपालिकाका स्थानीय खगेन्द्र कार्कीले सडक निर्माण सम्पन्न भए धार्मिक पर्यटनको विकास, स्थानीय व्यापार–व्यवसाय विस्तार तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने बताए ।
समयमै सडक निर्माण नहुँदा नागरिकले हिउँदमा धुलाम्मे र बर्षामा हिलाम्मे सडकका कारण सास्ती भोगिरहेका छन् । सोहि बाटो निर्माणका लागि खोला क्षेउमै क्रसर निर्माण गरेपनि अपेक्षा अनुसारको काम हुन सकेको छैन । यता पुर्वाधार विकास कार्यालय दैलेखले उक्त सडक खण्डमा पर्ने रुख कटानमा समस्या भएका कारण समयमै सडक निर्माण गर्न नसकिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *