नारायण नगरपालिका ३ को वार्षिक सार्वजनिक सुनुवाइ सम्पन्न
मातृभूमी संवाददाता । ३० असार दैलेख
नारायण नगरपालिका वडा नं. ३ ले आर्थिक वर्षभरि सम्पन्न भएका विकास निर्माण, सेवा प्रवाह तथा प्रशासनिक गतिविधिको समीक्षा गर्दै वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वडा सचिव सुभेक्षा पाण्डेले वडाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालन गरिएका योजना, बजेट कार्यान्वयन, सेवा प्रवाह तथा आगामी प्राथमिकताबारे जानकारी गराइन् । उनले सार्वजनिक सुनुवाइ नागरिकप्रति उत्तरदायी र पारदर्शी शासन प्रणालीलाई थप प्रभावकारी बनाउने माध्यम भएको उल्लेख गरिन् ।
सुनुवाइका क्रममा स्थानीय सेवाग्राही तथा सहभागीहरूले विकास निर्माणको गुणस्तर, सामाजिक सुरक्षा, खानेपानी, सडक, सरसफाइ, प्रशासनिक सेवा लगायतका विषयमा प्रश्न, जिज्ञासा र गुनासा राखेका थिए । उठाइएका विषयमा वडा सदस्यहरू, प्रमुख जवाफदेही वक्ता तथा वडा नं. ३ का वडाध्यक्ष चन्द्रप्रसाद उपाध्यायले स्पष्ट जवाफ दिँदै आवश्यक सुझावलाई आगामी योजना तथा कार्यक्रम मार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वडाध्यक्षले जनप्रतिनिधि र नागरिकबीचको प्रत्यक्ष संवादले स्थानीय सरकारप्रति विश्वास अभिवृद्धि हुनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए । उनले नागरिकबाट प्राप्त सुझाव र गुनासोलाई सकारात्मक रूपमा ग्रहण गर्दै सार्वजनिक हितका कार्यलाई प्राथमिकताका साथ अघि बढाइने जानकारी दिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, महिला समूह, युवा, पत्रकार तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले सार्वजनिक सुनुवाइलाई स्थानीय सरकारको पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवद्र्धन गर्ने प्रभावकारी अभ्यासका रूपमा प्रशंसा गरेका थिए ।
कार्यक्रमको सहजीकरण सुशासन अभियान्ता तथा पत्रकार भिम सिजापति र जीवन आचार्यले गरेका थिए । उनीहरूले नागरिक सहभागिता, पारदर्शिता र उत्तरदायित्वलाई संस्थागत गर्न सार्वजनिक सुनुवाइजस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको धारणा राखेका थिए । सार्वजनिक सुनुवाईमा उठेका जिज्ञासा तथा गुनासो सम्वोधनका लागि ४ वुँदे प्रतिवद्धता समेत जनाईएको छ ।

