नौमूले गाउँपालिकाको बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न

मातृभूमी संवाददाता । २९ असार दैलेख
दैलेखको नौमूले गाउँपालिकाले बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२/०८३ मा संचालन गरेका विकास निर्माणका कार्य, सेवा प्रवाह, बजेट कार्यान्वयन तथा सुशासनका असल अभ्यास लगाएतका विषयमा वार्षिक सार्वजनिक सुनुवाई गरिएको हो ।
गाउँपालिकाले वर्षभरि सञ्चालन गरेका पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, खानेपानी, सडक, सामाजिक सुरक्षा, विपद् व्यवस्थापन, महिला तथा बालबालिका, युवा तथा खेलकुद, रोजगार लगायतका क्षेत्रमा भएका कार्यको प्रगति सार्वजनिक सुनुवाईमा प्रस्तुत गरिएको थियो ।
स्थानीयवासीले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै कार्यक्रममा गाउँपालिका अध्यक्ष छविराम सुवेदीले जनताबाट प्राप्त सुझावलाई गाउँपालिकाले सकारात्मक रूपमा ग्रहण गर्ने बताए । उनले सार्वजनिक सुनुवाई केवल औपचारिक कार्यक्रम नभई जनप्रतिनिधि र नागरिकबीचको विश्वास अभिवृद्धि गर्ने प्रभावकारी माध्यम भएको उल्लेख गरे ।
अध्यक्ष सुबेदीले गाउँपालिकाले सीमित स्रोत–साधनका बाबजुद शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, खानेपानी तथा सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गर्दै आगामी दिनमा नागरिकबाट प्राप्त सुझावलाई नीति तथा कार्यक्रममा समेटेर थप प्रभावकारी सेवा प्रवाह गरिने प्रतिबद्धता व्यक्त गरे । उनले विकास निर्माणका सबै गतिविधिमा पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागितालाई उच्च प्राथमिकता दिइने समेत बताए ।
यस्तै उपाध्यक्ष गंग बहादुर शाहीले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा विपन्न समुदायलाई लक्षित कार्यक्रमलाई प्रभावकारी बनाइने बताए । सेवा प्रवाहलाई छिटो, सरल, पारदर्शी र नागरिकमैत्री बनाउन प्रशासन निरन्तर सुधारको प्रक्रियामा रहेको जानकारी दिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष सुवेदी, उपाध्यक्ष शाही, प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर मल्ला, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा विभिन्न शाखाका प्रमुखहरूको सहभागीता रहको थियो ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेका योजना, बजेट खर्चको अवस्था, सेवा प्रवाह, प्रशासनिक सुधार, सामाजिक विकास, पूर्वाधार निर्माण तथा विभिन्न क्षेत्रगत उपलब्धिबारे विस्तृत जानकारी गराईएको थियो । कार्यक्रमको सहजीकरण सुशासन अभियान्ता पत्रकार कमल शर्मा, भरतराज अधिकारी, विशाल सुनार, यामराज कटुवालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *