दैलेखमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मातृभूमी संवाददाता । २८ असार दैलेख
दैलेख जेसीज वर्ष २०२६ को आयोजना तथा नारायण नगरपालिका र एनएमबी बैंक दैलेखको आर्थिक सहयोगमा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै सर्वसाधारणलाई सहज रूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरबाट २ सय १८ जनाले प्रत्यक्ष लाभ लिएका छन् ।
शिविरमा विभिन्न प्रकारका स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो । जसमा १ सय १८ जनाको मधुमेह (सुगर) परीक्षण गरिएको थियो । परीक्षणका क्रममा २ जनामा उच्च मधुमेहको समस्या देखिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन् । ती व्यक्तिहरूलाई थप उपचार तथा नियमित स्वास्थ्य परीक्षणका लागि आवश्यक परामर्श समेत प्रदान गरिएको थियो ।
त्यसैगरी, शिविरमा ३८ जनाको भिडियो एक्स–रे (यूएसजी) सेवा उपलब्ध गराइएको थियो । महिलाहरूका लागि ८ जनाको गर्भ परीक्षण गरिएको थियो भने ६ जनाको पिसाबमा प्रोटिनको मात्रा परीक्षण गरिएको थियो । मिर्गौला तथा गर्भावस्थासँग सम्बन्धित सम्भावित स्वास्थ्य जोखिम पहिचानका लागि उक्त परीक्षण उपयोगी रहेको चिकित्सकहरूले बताएका छन् ।
दन्त स्वास्थ्यलाई समेत प्राथमिकतामा राखिएको शिविरमा २८ जनाले दन्त परीक्षण तथा आवश्यक परामर्श सेवा लिएका छन् । दाँत तथा मुखको स्वास्थ्यसम्बन्धी समस्या भएका सेवाग्राहीलाई उपचारका साथै सरसफाइ र नियमित हेरचाहबारे जानकारी प्रदान गरिएको थियो ।
शिविरमा सहभागी सर्वसाधारणले निःशुल्क रूपमा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई समयमै स्वास्थ्य परीक्षण गराउने अवसर उपलब्ध गराउने यस्ता कार्यक्रमले रोगको प्रारम्भिक पहिचान र समयमै उपचारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
दैलेख जेसीजले सामाजिक उत्तरदायित्व अर्न्तगत स्वास्थ्य, शिक्षा, वातावरण तथा युवामुखी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यस पटकको स्वास्थ्य शिविर पनि स्थानीय नागरिकको स्वास्थ्य अवस्थाबारे प्रारम्भिक जानकारी प्राप्त गर्न र आवश्यक परामर्श प्रदान गर्न प्रभावकारी बनेको आयोजकको भनाइ छ ।
शिविर सफल बनाउन नारायण नगरपालिका, एनएमबी बैंक दैलेख, स्वास्थ्यकर्मी, स्वयंसेवक, विभिन्न संघसंस्था, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्ति तथा संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको दैलेख जेसीजले जनाएको छ ।
शिविर सफलतापूर्वक सञ्चालन गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय र योगदान पुर्‍याउने सम्पूर्ण महानुभावहरूप्रति दैलेख जेसीज वर्ष २०२६ ले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ । आगामी दिनमा पनि यस्ता सामाजिक तथा जनहितमुखी कार्यक्रमलाई निरन्तरता दिँदै समुदायको स्वास्थ्य, शिक्षा र सामाजिक विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जेसीजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *