आत्मनिर्भरताका लागि कृषि उत्पादनमा जोड, दैलेखका नौ पत्रकार सम्मानित

मातृभूमी संवाददाता । २६ असार दैलेख
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन् । कृषि विकास कार्यालय दैलेख र पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखको संयुक्त आयोजनामा दैलेख सदरमुकाममा भएको ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार वितरण’ कार्यक्रममा सरकारको अध्ययन र अनुसन्धानले मात्रै कृषि क्षेत्रको विकास अपेक्षित ढङ्गले अघि बढ्न नसकेको उल्लेख गरे । उनले खेतीयोग्य जमिन बाँझो हुन थालेकोमा चिन्ता व्यक्त गर्दै कृषि उत्पादनमा चुनौती थपिएको बताए । कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतामा अघि बढ्नुपर्ने मन्त्री शाहले वताए ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज शाहीले कृषक नै मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै कृषकलाई सम्मान गर्नु भनेको उत्पादन, श्रम र आत्मनिर्भरताको सम्मान गर्नु भएको बताए । उनले कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउन तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । पुरस्कार तथा सम्मानले कृषकलाई थप उत्साहित बनाउँदै उत्पादन वृद्धि र कृषि व्यवसाय विस्तारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।
यस्तै नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष कमल प्रसाद शर्माले कृषि क्षेत्रको विकासमा सञ्चार माध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । कृषकका सफलता, समस्या र सम्भावनालाई निरन्तर उजागर गर्दै कृषि क्षेत्रको प्रवद्र्धनमा पत्रकारिता सधैं प्रतिबद्ध रहने बताए । कृषि विकास कार्यालय दैलेख र पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुखहरूले कृषि उत्पादन वृद्धि, व्यवसायीकरण तथा कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
कृषि तथा पशुपालन क्षेत्रमा योगदान पुर्‍याएका उत्कृष्ट कृषकहरूलाई सम्मानपत्र सहित पुरस्कार प्रदान गरिएको छ । यस्तै कृषि तथा पशु पालन क्षेत्रमा पत्रकारीता क्षेत्रवाट महत्वपुर्ण योगदान पुर्‍याएको भन्दै जिल्लाका नौ जना पत्रकारलाई समेत सम्मान गरिएको छ । सम्मानीत हुनेहरुमा नेपाल पत्रकार महासंघ दैलेखका शाखाका अध्यक्ष कमल शर्मा, निवर्तमान अध्यक्ष अमर सुनार, उपाध्यक्ष महेन्द्र सापकोटा, सचिव भिम सिजापति, दैलेख शाखाका साधारण सदस्यहरु उदयराज अधिकारी, यामराज कटुवाल, यामराज विष्ट, विशाल सुनार, दिपेन्द्र कार्की वस्ताकोटी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *