आठ सयभन्दा बढी बालबालिकालाई स्वर्णविन्दु प्राशन
मातृभूमी संवाददाता । १८ माघ दैलेख
बालबालिकाको शारीरिक तथा मानसिक विकास सुदृढ बनाउने उद्देश्यले स्वर्णविन्दु प्राशन गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले जिल्लाका विभिन्न क्षेत्रबाट आएका ८ सय ९ जना भन्दा बढी बालबालिकालाई स्वर्णविन्दु प्राशन सेवा प्रदान गरिएको कार्यालय प्रमुख डा. यादवप्रसाद उपाध्यायले जानकारी दिए । आयुर्वेदिक विधि अनुसार बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने, बारम्बार लाग्ने सर्दी–खोकी, ज्वरो लगायतका रोगबाट जोगाउने तथा स्मरण शक्ति र शारीरिक विकासमा सहयोग पुर्याउने कार्यालय प्रमुख उपाध्यायले बताए ।
आयुर्वेदिक उपचार पद्धतीप्रति जनविश्वास बढ्दै गएकाले बालबालिकाको दीर्घकालीन स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बालबालिकाका अभिभावक नारायण नगरपालिका २ का टोपेन्द्र थापाले बताए । स्थानीय नागरिक, स्वास्थ्यकर्मी तथा सम्बन्धित सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको अभिभावक थापाले वताए ।
आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले जनस्वास्थ्य प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै आयुर्वेदिक सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको कार्यालय प्रमुख उपाध्यायले बताए । आगामी दिनमा बालबालिका, महिला तथा जेष्ठ नागरिक लक्षित आयुर्वेदिक स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गरिने कार्यालय प्रमुख उपाध्यायले जानकारी दिए ।

