पत्रकार महासंघ दैलेखका पुर्वसाधारण सदस्य अधिकारीको निधन
मातृभूमी संवाददाता । १८ माघ दैलेख
नेपाल पत्रकार महासंघ दैलेख शाखाका पुर्वसाधारण सदस्य माधवराज अधिकारीको निधन भएको छ । नेपाल बार एशोसियशन दैलेख शाखाका पूर्वअध्यक्ष एवं अधिवक्ता ५३ वर्षीय अधिकारीको शनिबार राति निधन भएको हो । नारायण नगरपालिका १ देवकोटो चोक स्थित आफ्नै घरमा उहाँको निधन भएको छोरी ज्वाई ध्रुवविक्रम थापाले जानकारी दिए ।
दुई वर्षदेखि नसा रोगबाट ग्रसित अधिवक्ता अधिकारी घरमै उपचार गराईरहेका थिए । नेपालगञ्जमा केही समय पत्रकारिता गरेका अधिकारी पछिलो समय व्यवसाय र वकावलत गर्दै आएका थिए । अधिकारी दैलेख उद्योग बाणिज्य संघ लगायत थुप्रै गैरसरकारी संस्था र सञ्चार माध्यमको कानूनी सल्लाहकार समेत थिए ।
अधिकारीका २ छोरी, १ छोरा र श्रीमति छन् । आइतबार दिउँसो उनको पार्थिव शरीर श्रीस्थान स्थित आर्यघाटमा दाहासँस्कार गरिएको छ । उनको स्मृतिमा दैलेख उद्योग बाणिज्य संघले आइतबार विहानैदेखि दैलेख सदरमुकामका उद्योग, पसल, व्यापारहरु बन्द गराएको थियो ।

