‘मेरो बाबा कहिले घर आउनुहुन्छ ?’
मातृभूमी संवादाता । १७ फागुन पोखरा
दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीका १० वर्षीय कान्छो छोरा स्वराज बिहीबार छिमेकी तथा पिताका राजनीतिक सहयात्री धनराज आचार्यलाई सोधिरहेका थिए, ‘अंकल, मेरो बाबा कहिले घर आउनुहुन्छ ?’
तर, शुक्रबार उनी आफ्नो आमासामू अभिभावकजसरी प्रस्तुत भए । रविन्द्रको निधनपछि काठमाडौं ल्याइएकी पत्नी बिद्या भट्टराईलाई आजै काठमाडौंबाट पोखरा लगिएको थियो । स्वराज भने घरमै थिए ।
उनले हिजो केही भेउ पाउन सकेका थिएनन्, के भइरहेको छ भन्ने । आज भने सबै कुरा बुझिसकेका छन् । त्यसैले उनी आफ्नी आमालाई सान्त्वना दिन खोजिरहेका थिए । उनले आमालाई आफ्नो हातले पानी खुवाए, आँशु पुछिदिए । अनुहारमा हातले स्पर्श गरे । त्यो करुणामय दृष्यले त्यहाँ वरिपरी रहेकाहरु झन् द्रविभूत बनेका थिए ।
अध्ययनका सिलसिलामा दिल्लीमा रहेका दाजु विराज र उनको भेट पोखरामै भयो । पितृवियोगको क्षणमा दुवै भाइ अँगालोमा कसिएर धेरैबेर रोएका थिए । दुर्घटनाको खबर सुनदेखि विक्षिप्त रहेकी विद्यालाई उनका दुई छोराले ढाडस दिइरहेको दृष्य मार्मिक थियो ।