फड्को मार्ने दाउमा पालिका उपप्रमुख

मातृभूमी राजनितिक व्युरो । १२ फागुन दैलेख
दैलेखको आठबिस नगरपालिकाकी उपप्रमुख दीपा बोहोरा आगामी स्थानीय तहको निर्वाचनामा प्रमुखकी आकांक्षी हुन् । स्थानीय सरकार सञ्चालनको पाँच वर्षे अनुभव संगालेकी उनी यसपटक पालिका प्रमुखमा दाबी गर्दैछिन् । उपप्रमुख रहेर कार्यसम्पादन गर्दा बोहोराले थुप्रै चुनौति झेलिन् । स्थानीयस्तरका समस्यालाई नजिकबाट अनुभव गरेकी उनले त्यसको सुधारका लागि यसपालि मूलपदमै उम्मेदरवारी दिने सोच बनाएकी छिन् । ‘पदीय क्षेत्राधिकारका कारण सोचेअनुरूप कतिपय काम गर्न सकिएन,’ उनी भन्छिन्, ‘अहिलेको सिकाइले परिपक्क बनाएको छ । अब पालिकाको मुख्य पदमा रहेर सेवा गर्ने चाहना छ ।’ उनले त्यसका लागि आफू योग्य र सक्षम रहेको समेत जनाइन् । नेपाली कांग्रेसको राजनीतिमा उत्तिकै सक्रिय बोहरा सामाजिक अभियान्ता पनि हुन् ।
दैलेखकै नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल पनि आगामी स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा उठ्ने तयारीमा छिन् । उपप्रमुखमा लोकप्रिय मतले विजय भएकाले प्रमुखको चुनाव पनि सहजै जित्न सक्ने आत्मविश्वास उनमा छ । ‘मैले यो अवधिमा नगरप्रमुख बन्न सक्ने थुप्रै आधार बनाएकी छु,’ उनले भनिन्, ‘त्यसैले पार्टीले नेतृत्वदायी भूमिकामा अवसर दिनेमा पनि विश्वस्त छु ।’ गएको स्थानीय चुनावमा नेकपा (एमाले) बाट उपप्रमुख बनेकी मल्ल हाल नेकपा (एकीकृत समाजवादी) मा आवद्ध छिन् । यो कार्यअवधिमा नगरप्रमुख भन्दा आफूले बढी नै काम गरेको उनको दाबी छ । महिलालाई ‘उप’ पदमा मात्र सीमित गर्ने सोचलाई यस पटक बदल्न जरुरी रहेको मल्लले बताइन् । ‘महिला भएकै कारण सकभर कार्यकारी भूमिका नपाउने र पाएको जिम्मेवारी तथा क्षेत्राधिकारबाट पनि वञ्चित हुनुपर्ने अवस्था छ,’ उनी भन्छिन्, ‘यसको अन्त्यका लागि आगामी चुनावमा महिलाहरूले प्रमुख पदमै उम्मेदवारी दिनुपर्ने छ ।’
यस्तै, कार्यकाल सकिनै लाग्दा ठाँटिकाँध गाउँपालिकाकी उपाध्यक्ष सुस्मिता सिंहले अध्यक्षका लागि उम्मेदवार बन्ने वा नबने भन्नेबारे अहिलेसम्म केहि खुलाएकी छैनन् । नेकपा एमालेवाट उपाध्यक्षमा विजयी सिंह हाल एकिकृत समाजवादी पार्टीमा आवद्ध छन् । उनी एकिकृत समाजवादी पार्टीका तर्फवाट अध्यक्षका लागी बलियो दाबेदार भने हुन् । उपाध्यक्ष पदमा रहेर सफलतापूर्वक आफ्नो जिम्मेवारी पुरा गरेको दावी गर्दै सिंहले अधिकांश पालिकामा प्रमुख र अध्यक्षमा महिला आउने विश्वासमा छिन् ।
निर्वाचित भइसकेपछि अनेक चुनौतिहरू सामना गर्दै आफ्नो कार्यकाल सम्पन्न गर्न लागेको महावु गाउँपालिकाकी उपाध्यक्ष प्रेमकुमारी वुढाले वताईन् । नेकपा एमालेवाट गाउँपालिकाको उपाध्यक्षमा विजयी वुढा हाल एकिकृत समाजवादीमा आवद्ध छन् । उपाध्यक्ष वुढाले भनिन्, ‘सिक्दै अगाडि बढियो । आफ्नो जिम्मेवारी सफलतापुर्वक सम्पन्न गरिएको । जिम्मेवारी वहन गर्ने क्रममा विभिन्न चुनौति पार गरियो । आम मतदाताले विश्वास गरे पालिकाको अध्यक्ष वन्न तयार रहेको र त्यसका लागि आफ्नो जनाधार पनि बलियो छ ।’
स्थानीय तहको निर्वाचन नजिकिएसँगै बहालवाला उपप्रमुख र उपाध्यक्षहरूले धमाधम प्रमुख तथा अध्यक्षमा निर्वाचन लड्ने आकांक्षा व्यक्त गर्न थालेका छन् । अघिल्लो स्थानीय तहको चुनावमा उपमा मात्रै सीमित बनाइएका महिलाहरू यसपटक प्रमुख पदमै दाबी गर्न थालेका हुन् । स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै एक पदमा महिला अनिवार्य हुनुपर्छ संवैधानिक व्यवस्था छ । पालिकाको नेतृत्व तहमा महिलाहरूको पहुँच सुनिश्चित गर्न संविधानले यस्तो व्यवस्था गरेपनि नगन्य संख्यामा मात्र महिलाहरू प्रमुख पदमा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *