सन्दिप लामिछाने विमानस्थलवाटै पक्राउ
मातृभूमी संवाददाता । २० असाेज काठमाण्डाै
बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन् । दोहाबाट कतार एयरवेजको जहाजमार्फत आज बिहान नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो ।
कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको विमानमार्फत सन्दीप स्वदेश फर्किएका हुन् । खराब मौसमका कारण उक्त विमान निर्धारित समयभन्दा केही बेर ढिलो अवतरण भएको थियो ।
सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ । काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।
होटेल काठमाडौं इनको सीसीटीभी फुटेजमा उनीहरू राति ११ः५५ बजे होटेल प्रवेश गरेको देखिएको छ । बिहान ६ः४५ मा दुवैजना सँगै बाहिर निस्किएको देखिएको छ ।
उनी भदौ ६ गते सन्दीप ट्वान्टी–२० क्रिकेट खेल्न केन्या प्रस्थान गरेका थिए। त्यहीँबाट उनी क्यारेबियन प्रिमियर लिग सीपीएल खेल्न जमैका गएका थिए । उनी जमैकामै रहेका बेला उनीविरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।