गल्ती गरे नछोड्नुस्, राम्रो गरेको पनि लेखिदिनुस् : डा. रेग्मी

स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. धर्मराज रेग्मीले पत्रकारहरुले यथार्त सूचना सम्प्रेषण गरिदिएमा स्वास्थ्य सेवालाई अझैं सुधार गर्दै लैजान सजिलो पर्ने बताउनुभएको छ । कार्यालयले सोमबार दैलेखमा आयोजना गरेको सञ्चारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो ‘स्वास्थ्यकर्मीले गल्ती गरेको पुष्टि भए समाचार रोक्नुपर्दैन, लेख्नुस् ।’ डा. रेग्मीले दरबन्दी अनुसार डाक्टरहरुको पदपूर्ति नभएको, स्वास्थ्य सेवा प्रवद्र्धनमा बजेट कटौती हुदै आएको, उपकार र भौतिक पूर्वाधारहरुको अभावमा स्वास्थ्यकर्मीहरुले बिरामीको उपचार र आम नागरिकहरुमा स्वास्थ्य सेवा प्रवद्र्धनका कामहरुमा गरेको लगनशीलतालाई हौसला दिने सकारात्मक सन्देश र सञ्चार प्रवाह गरिदिन आग्रह गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मी र मेडिकल रेकर्डर सुपरभाइजर प्रकाश अधिकारीले स्वास्थ्य सेवा कार्यालयले सम्पादन गरिरहेका उपचार र प्रवद्र्धनात्मक स्वास्थ्य सेवा विषयमा जानकारी गराउनुभएको थियो ।  स्वास्थ्य सेवाका तथ्यांक अनलाइन प्रणालीमा लिइएको, गर्भवती तथा सुत्केरीहरुको मातृ तथा शिशु स्याहार प्रभावकारी बनाइएको, खोप तथा सामुदायिक स्वास्थ्य सेवाहरु महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरी सुव्यवस्थित बनाइएको, बिरामीहरुको उपचारमा तत्परता  जस्ता स्वास्थ्य सेवालाई गुणस्तरीयता बनाउदै लगिएको जानकारी दिनुभयो ।

त्यसबखत नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नविन रिजालले अन्धविश्वास, कुरीति र कुसँस्कारका कारण पनि स्वास्थ्य सेवा लिन नआउनेहरु पनि भएको भन्दै अन्धविश्वास हटाउने अभियान चलाउन सुझाव दिनुभयो । खुला छलफलमा स्वास्थ्य सेवामा देखिएका समस्याहरुका विषयमा पत्रकारहरुले सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *