दैलेखका दुई हजार भन्दा बढी किशोरीलाई एचपीभी खोप लगाईदै

मातृभूमी संवाददाता । १७ भाद्र दैलेख
दैलेखका दुई हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ । यहाँका ११ स्थानीय तहका विद्यालय जाने २ हजार ६ सय ६६ र विद्यालय नजाने २ सय १० गरी २ हजार ८ सय ७६ किशोरीलाई खोप लगाउन लागिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ ।
आठबीस नगरपालिकाका ३ सय ८०, चामुण्डाबिन्द्रासैनी नगरपालिकाका २ सय ७८, दुल्लु नगरपालिकाका ३ सय ६८ र नारायण नगरपालिकाका ३ सय ८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउन लागिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीर प्रसाद रेग्मीले जानकारी दिए ।
यस्तै दैलेखको ठाँटीकाँध गाउँपालिकाका २ सय ३२, भैरवी गाउँपालिकाका २ सय ५, महाबु गाउँपालिकाका १ सय ७८, नौमुले गाउँपालिकाका २ सय ७, भगवतीमाई गाउँपालिकाका १ सय ५५, डुङ्गेश्वर गाउँपालिकाका १ सय ७२ र गुराँस गाउँपालिकाका १ सय ८३, जना विद्यालय जाने किशोरीलाई खोप लगाईने खोप अधिकृत रेग्मीले जानकारी दिए ।
उहाँले विद्यालय नजाने किशोरीहरुलाई पनि खोप अभियानमा समेटिएको बताए । विद्यालय नजाने २ सय १० किशोरीलाई नजिकको स्वास्थ्य संस्थामा खोप लगाउने तयारी भैरहेको उनले वताए । लक्षित उमेर समूहका कुनै पनि किशोरी खोपबाट छुट्न नदिन विद्यालय जाने र विद्यालय नजाने दुवै समूहलाई समेटेर अभियान सञ्चालन गरिने खोप अधिकृत रेग्मीले वताए । दैलेखका ११ स्थानीय तहमा दुई चरणमा खोप लगाईने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *