दैलेखमा नियमित खोप तथा एचपीभी खोप अभियान सम्बन्धी अभिमुखीकरण
मातृभूमी संवाददाता । १५ भाद्र दैलेख
दैलेखको भगवतीमाई गाउँपालिकामा नियमित खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुका साथै विद्यालय केन्द्रित एचपीभी खोप अभियान सञ्चालनका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । भगवतीमाई गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिका स्तरमा खोप कार्यक्रमसँग सम्बन्धित स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागितामा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी, व्यवस्थित र पहुँचयोग्य बनाउने विषयमा छलफल गरिएको भगवतीमाई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य निरीक्षक टिकाराम विष्टले जानकारी दिए । उनका अनुसार विद्यालयमा अध्ययनरत किशोरीहरूलाई लक्षित गरी सञ्चालन हुने एचपीभी खोप अभियानका लागि आवश्यक तयारी, खोपको महत्व, लक्षित समूहको पहिचान, खोप केन्द्र व्यवस्थापन, अभिलेखीकरण तथा अभियानका क्रममा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका उपायबारे सहभागीलाई जानकारी गराइएको थियो ।
विद्यालय केन्द्रित अभियान मार्फत लक्षित किशोरीसम्म खोपको पहुँच पुर्याउन विद्यालय, स्वास्थ्य संस्था, स्थानीय तह, अभिभावक तथा समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको कार्यक्रममा जोड दिइएको स्वास्थ्य शाखा प्रमुख विष्टले बताए । अभिमुखीकरण कार्यक्रममा खोप अभियान सञ्चालनका क्रममा आउन सक्ने चुनौती, एचपीभी खोपप्रति अभिभावक तथा समुदायमा रहेको भ्रम हटाउने उपाय र खोप सम्बन्धी सही सूचना प्रवाह गर्ने विषयमा समेत छलफल गरिएको थियो ।
नियमित खोप सेवासँगै एचपीभी खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख विष्टले बताए । अभियानका क्रममा विद्यालय, स्वास्थ्य संस्था र स्थानीय समुदायबीच समन्वय गरी कुनै पनि लक्षित किशोरी खोपबाट वञ्चित नहुने वातावरण निर्माण गरिने उनको भनाइ छ ।
कार्यक्रमले भगवतीमाई गाउँपालिकामा खोप सेवाको पहुँच विस्तार गर्नुका साथै एचपीभी खोप सम्बन्धी जनचेतना अभिवृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

