प्रेस युनियन दैलेखको आठौँ अधिवेशन यही भदौ १४ गते हुने
मातृभूमि संबाददाता । भाद्र ११ दैलेख
नेपाल प्रेस युनियन दैलेखको आठौँ जिल्ला अधिवेशन यही भदौ १४ गते हुने भएको छ । अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक तयारी अघि बढाइएको प्रेस युनियन दैलेखका सभापति अभिषेक अनुरागले जानकारी दिए ।
उनले जिल्लाका युनियनमा आबद्ध सबै सदस्य तथा शुभेच्छुकलाई अधिवेशनमा सक्रिय सहभागिता जनाउन आग्रह गरे । अधिवेशनका क्रममा संगठनको आगामी कार्यदिशा, पत्रकारहरूको पेशागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको गुणस्तर अभिवृद्धि लगायतका विषयमा छलफल हुने सभापति अनुरागले बताए ।
पछिल्लो समय पत्रकारिता क्षेत्रमा देखिएका चुनौती र स्थानीय तहमा सञ्चार क्षेत्रको भूमिकाका विषयमा समेत अधिवेशन केन्द्रित हुने उनको भनाई छ । नेपाल प्रेस युनियन पत्रकारहरूको पेशागत तथा लोकतान्त्रिक अधिकारका पक्षमा काम गर्दै आएको संगठन भएकाले जिल्ला अधिवेशनलाई महत्वपूर्ण रूपमा हेरिएको सभापति अनुरागले बताए ।
उनले अधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउने अपेक्षा गरे । अधिवेशनमा युनियन दैलेखमा आबद्ध पत्रकार, सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहने आयोजकले जनाएको छ । अधिवेशनले जिल्लामा क्रियाशील पत्रकारहरूको पेशागत हकहित, पत्रकारिता क्षेत्रको विकास तथा संगठनलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

