संगिता राना स्मृति पुरस्कारबाट डिलकुमारी सापकोटा पुरस्कृत

मातृभूमि संबाददाता । भाद्र ११ दैलेख
सोसेक नेपाल दैलेखले स्थापना गरेको संगिता राना स्मृति पुरस्कार–२०८३ बाट नौमुले गाउँपालिका ३ की डिलकुमारी सापकोटा पुरस्कृत भएकी छन् । सोसेक नेपाल दैलेखको २९औँ वार्षिक उत्सव तथा साधारण सभाको अवसरमा सापकोटालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
प्रविणता तहमा अध्ययनरत सापकोटाले व्यवस्थापन सङ्कायबाट ३.९६ जिपिए प्राप्त गर्दै नेपालकै सर्वाधिक अंक सहित उत्तीर्ण भएको उपलब्धिका लागि उनलाई सम्मान गरिएको हो । पुरस्कार स्वरूप उनलाई प्रमाणपत्र सहित नगद वीस हजार एक रुपैयाँ प्रदान गरिएको संस्थाका अध्यक्ष मञ्जु खड्काले बताईन् ।
गत चैत १६ गते संस्थाकी बहालवाला कोषाध्यक्ष स्वर्गीय संगिता राना सवारी दुर्घटनामा परी दिवंगत भएको सम्झनामा उक्त पुरस्कार स्थापना गरिएको हो । दिवंगत राना सामाजिक सेवामा समर्पित निष्ठावान र कर्मठ व्यक्तित्व भएको उल्लेख गर्दै संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक हीरासिंह थापाले सामाजिक जीवनमा प्रेरणादायी भूमिका खेल्ने तथा महिला, दलित र लक्षित समुदायको समुन्नतिका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताए ।
थापाका अनुसार यसै वर्षदेखि सुरु गरिएको उक्त पुरस्कारलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *